५ दिने महिला उद्यमी मेला आजदेखि सुरु

| २०८० भदौ २० गतेमा प्रकाशित

काठमाण्डौ- एक घर एक व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको साना तथा मझौला व्यवसायी महासंघ नेपाल तथा केन्द्रीय महिला उद्यमी समितिको आयोजनामा आजदेखि ५ दिने महिला उद्यमी मेला २०८० सुरु भएको छ । ललितपुरको याक प्यालेसमा बुधबारदेखि सुरु भएको मेलाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै मन्त्री रिजालले साना तथा घरेलु उद्यमीहरुको संरक्षण गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए । मुलुकको लागि महिला र पुरुष दुवै उद्यमीहरुको खाँचो रहेको बताउनु भयो । मन्त्री रिजालले उद्यमीहरुको योगदान विना मुलुक समृद्ध हुन नसक्ने भन्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीच समन्वय र सहकार्य हुन जरुरी रहेको बताए ।

मन्त्री रिजालले मेलामा राखिएका सबै स्टलको अवलोकन गर्दै विभिन्न किसिमका स्वदेशी उत्पादनका बारेमा जानकारी समेत लिएका थिए । मेला भाद्र २४ गतेसम्म संचालन गरिने महासंघ अन्तर्गत केन्द्रीय महिला समितिकी सहसचिव अनिता ठकुरीले बताइन् । उनको अनुसार उक्त मेलामा नेपालको पूर्वदेखि पश्चिमसम्मका साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सबै किसिममा सामग्री राखिएको छ ।

८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामग्रीहरु छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको छ ।

No description available.

 

 

 

प्रतिक्रिया दिनुहोस्