आनन्द र शान्ति प्राप्तिका लागि लुम्बिनी !

| २०८० कार्तिक १७ गतेमा प्रकाशित

रुपन्देही – नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् । शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्तस्थल हो । यहाँ बर्सेनि लाखौँको सङ्ख्यामा आन्तरिक एवं वाह्य पर्यटक, तीर्थालु, तथा अध्येताहरु सो स्थानमा आउँछन् ।

बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी महत्वपूर्ण पवित्र तीर्थस्थल हो । बुद्ध जन्मस्थल लुम्बिनीमा मुख्यतया मायादेवी मन्दिरलगायत, बेबि बुद्धको मूर्ति राखिएको स्थान, शान्तिदीप, विश्वशान्ति स्तुपलगायत दर्जन बढी गुम्बा र विहार रहेका लुम्बिनी पुगेपछि घुम्नैपर्ने क्षेत्र हुन । लुम्बिनी भगवान गौतम बुद्धको पवित्र जन्मस्थल हो । ई पू ६२३ मा लुम्बिनीस्थित बगैँचामा माता मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको हो ।

भगवान गौतमबुद्धले जन्म लिएको यही स्थानमा अहिले सुन्दर कलात्मक शैलीको मायादेवी मन्दिर रहेको छ । मायादेवी मन्दिरभित्र राखिएको मायादेवीको मूर्तिलाई जन्ममूर्ति पनि भन्ने गरिन्छ । चाँैथो शताब्दीमा निर्मित यो मूर्तिले बुद्धको जन्म दृश्यलाई देखाएको छ । मायादेवीले गौतम बुद्धलाई जन्म दिँदा सहाराका लागि दाँहिने हातले रुखको हाँगा समातेको र देब्रेपट्टी उहाँकी बहिनी प्रजापती र देवगण भगवानको स्वागतका लागि तयारी अवस्थामा देखिएका छन् । त्यही नवजात बुद्धको मूर्ति पनि बीचमा रहेको छ ।

मायादेवी मन्दिरभित्र गौतमबुद्ध जन्मेपछिको पहिलो पाइला छ । यही मन्दिरको अवलोकन गर्न र गौतम बुद्धको जन्मका बारेमा जानकारीका लागि पनि हरेक वर्ष लाखौँको सङ्ख्यामा बौद्ध तीर्थालु, अध्येता र पर्यटक पवित्र लुम्बिनी भ्रमणमा आउँछन् ।

त्यस्तै मन्दिर परिसरमा बाहिर उत्तरतर्फ शान्तिदीप छ, जुन २४ घण्टा नै बलिरहन्छ । शान्तिदीप पानी पर्दासमेत निभ्दैन । दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटक डुङ्गा चढेर पनि रमाउने गर्छन् । लुम्बिनी गुरुयोजना अन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुङ्गा चल्ने गर्दछ । यहाँ आउने पर्यटकलाई लुम्बिनी घुमेर मात्र पुग्दैन । पर्यटक बुद्धसँग सम्बन्धित लुम्बिनी वरिपरिका क्षेत्र घुम्न पनि उत्तिकै महत्वपूर्ण ठान्छन् ।

जापानी प्राकेन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी गुरुयोजना ३ वर्ग माइल क्षेत्र ओगटेको छ । यस क्षेत्रलाई प्रत्येक एक वर्ग माइल क्षेत्र विभाजन गरी गुरुयोजना अनुसार लुम्बिनी क्षेत्रको निर्माणकार्य भइरहेको छ । गुरु योजना अनुसार तीन क्षेत्र सेक्रेट गार्डेन, स्तुप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले आकर्षक स्तुप बनाएका छन् । लुम्बिनी पुग्ने हरेक पर्यटक ती स्तुपहरुमा नपुगे लुम्बिनी भ्रमण अधुरै रहन्छ । यहाँका घुम्नैपर्ने स्थानहरु यस प्रकारका छन् ।

लुम्बिनी पवित्र उद्यान क्षेत्रः लुम्बिनीको दक्षिण भागमा रहेको पवित्र उद्यान क्षेत्रको मुख्य रुपमा आध्यत्मिकता, शान्ति, विश्व भातृत्व र अहिंसा झल्किने वातावरणको सिर्जना गर्नुका साथै संसारभरि नै भगवान गौतमबुद्धका सन्देश प्रतिविम्बित गर्नु हो । पवित्र उद्यान क्षेत्रमा पुरातात्विक तथा ऐतिहासिक धरोहर रहेका छन् यिनलाई बगँैचा र सुन्दर पोखरीले थप मनमोकह बनाएको छ । यस क्षेत्रमा रहदा हरेकलाई शान्ति र आनन्द महसुस हुनेगर्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट