कर्मचारीलाई कुटपिट गरेपछि गाउँपालिकाका सबै सेवा ठप्प !

| २०७९ पौष ३ गतेमा प्रकाशित

काठमाडौँ- सल्यानको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले पालिकाबाट दिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प पारेका छन्।

योजना अनुगमन गर्न गएका पालिकाका इन्जिनियरलाई योजनाको काम गर्दै आएका ठेकेदारका आफन्तले कुटपिट गरेपछि त्यसको विरोधमा कर्मचारीले आइतबारदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन्।

कर्मचारीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म आफूहरू सेवामा नफर्किने बताएका छन्। पालिका कार्यालयको कामकाज नै ठप्प भएपछि सर्वसाधारण सेवाबाट वञ्चित भएका छन्।

गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा नं २ को वडा कार्यालय भवन ढलानको अनुगमन गर्न गएका वेला ठेकेदार कम्पनीले मापदण्ड विपरीत काम गरिरहेको र मापदण्डअनुसार काम गर्न आग्रह गर्दा ठेकेदार डम्मर तिरुवाका ३० वर्षीय छोरा सञ्जयकुमार तिरुवाले शनिबार दिउँसो उनीहरूमाथि कुटपिटका साथै दुर्व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत मार्सल कुमार ओलीले बताए । 

उनले भने, ‘ इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा नं २ को वडा कार्यालय भवन ढलानको अनुगमन गर्न गएका रहेछन्, त्यहाँ उनीहरूले मापदण्ड अनुसार भएन भनेपछि ठेकेदारका छारा सञ्जयकुमार तिरुवाले हातपात गरेको रहेछ ।’ 

उनले बताए अनुसार तिरुवालाई प्रहरीले पक्राउ गरेको छ । गाउँपालिका अध्यक्ष काठमाडौँ र आफू कामको सिलसिलामा  सुर्खेतमा रहेको र फर्के पछि घटनाबारे थप छलफल हुने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्