लोप हुँदै जुट खेती

| २०८० असोज १२ गतेमा प्रकाशित

रुपन्देही - पूर्वी तराईमा नगदेबालीका रुपमा चिनिएको जुट खेती हाल लोप हुँदै गएको छ । दुई दशक पहिला मोरङमा झण्डै ४० हजार हेक्टरमा जुटखेती हुने गरेकोमा हाल ५ हजार हेक्टरमा सीमित भएको छ । पहिले मोरङका प्राय सबै स्थानीय तहमा जुटको खेती हुन्थ्यो भने अहिले सीमावर्ती क्षेत्रमा धनपालथान, जहदा, सुनवर्षी, रतुवामाई र रंगेली क्षेत्रका किसानले जुट खेतीको बिँडो मात्रै थामेका छन् । 

उत्पादिन जुटले पनि उचित मूल्य पाउन सकेको छैन । गतवर्ष यो समयमा जुटको मूल्य प्रतिक्विन्टल ११ हजार रुपैयाँ थियो भने यो वर्ष प्रतिक्विन्टल ९ हजार रुपैयाँ मात्र रहेको मोरङ व्यापार संघको सूची छ । जुटमा लागत अनुसार मूल्य नपाउनु, जुट तोप्ने खाडलको समस्या हुनु र खेतीका लागि आवश्यक मजदुर नपाउनु नै यो खेती विस्तारै लोप हुँदै जानुको मुख्य कारण भएको धनपालथान नोचाका किसान अकवर हुसेनको भनाइ छ ।

डेढ दशक पहिलेसम्म मोरङ, सुनसरी र झापामा झण्डै ७० हजार हेक्टरमा जुट खेती हुने गरेकोमा अहिले करिब सात हजार हेक्टरमा सीमित भएको कोशी प्रदेश कृषि निर्देशनालयको तथ्याङक छ । निर्देशनालयका अनुसार दुई दशक पहिला झण्डै ४० हजार हेक्टरमा जुट खेती हुने मोरङमा अहिले ५ हजार ७० हेक्टरमा सीमित छ । २० हजार हेक्टरमा खेती हुने गरेको सुनसरीमा अहिले १ हजार ३ सय हेक्टर र १० हजार हेक्टरमा खेती हुने झापामा अहिले ५ सय ५० हेक्टरमा खेती सीमित छ । दुई दशक पहिला यस क्षेत्रमा झण्डै ८० हजार टन कच्चा जुट उत्पादन हुने गरेकोमा हाल वार्षिक सरदर करिव १० हजार टन कच्चा जुट उत्पादन हुने गरेको निर्देशनालयको तथ्याङ छ।

प्रतिक्रिया दिनुहोस्