तोकिएको विद्यालयमा तत्काल हाजिर हुन शिक्षकलाई अध्यक्ष अधिकारीको निर्देशन

| २०८० भदौ २७ गतेमा प्रकाशित

नुवाकोट- तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले गाउँपलिकाले गरेको शिक्षक काज सरुवाको निर्णय अनुसार तत्काल तोकिएको विद्यालयमा हाजिर हुन शिक्षकहरुलाई निर्देशन दिएका छन् । केही दिनअघि गाउँपालिकाले शिक्षकहरूलाई चलायमान बनाउन आफ्नो क्षेत्राधिकार भित्रका सबै शिक्षकको सरुवा गर्ने भन्दै पहिलो चरणमा ८६ जना शिक्षकको काज सरुवा गरेको थियो ।

सरुवाप्रति असन्तुष्टि जनाउँदै शिक्षक सङ्गठनहरूले निर्णय कार्यान्वयन नगर्न दबाब दिइरहेका छन् । तर गाउँपालिका अध्यक्षले अधिकारीले भने सबै विद्यालयहरुलाई परिपत्र गर्दै तत्काल शिक्षक हाजिर गर्न र निर्णय नमान्नेलाई कारबाहि गर्न समेत निर्देशन दिएका छन् । शैक्षिक सुधारको कार्यक्रम अन्तर्गत विभिन्न चरणमा विद्यालयहरूको अनुगमन गरी अभिभावकहरूको समेत सल्लाहका आधारमा सो निर्णय गरिएको उनको भनाई छ ।

पहिलो चरणमा परीक्षणका रूपमा एक तिहाइ शिक्षकको सरुवा गरिएको र यसले दिने नतिजाको अध्ययन गरी अर्को चरणको सरुवा कार्यक्रम अघि बढाउने अध्यक्ष अधिकारीले बताए । उनका अनुसार, शिक्षकको काम राजनीति गर्ने होइन, सरकारले खटाएको ठाउँमा गएर पढाउने हो । हामीले सरुवाको निर्णय गर्दा शिक्षकको विषय क्षेत्र, उच्च शैक्षिक योग्यता, सीप र क्षमतालाई ध्यानमा राखेर अधिकतम कार्यक्षमताको उपयोग हुने हिसाबले गरेका छौं । यो हचुवाको निर्णय होइन, लामो अध्ययन र तयारीपछिको निर्णय हो त्यसैले यसलाई पूर्ण कार्यान्वयन गराउनु आजको आवश्यकता हो ।

अर्काको उक्साहटमा आएर पूर्वाग्रहको दुष्चक्रमा नफस्न र आफ्नो पेसागत दायित्वलाई भुलेर सुनौलो भविष्य बोकेका बालबालिकाको भविष्यमाथि खेलबाड नगर्न शिक्षकहरूलाई चेतावनी दिँदै अध्यक्ष अधिकारीले तत्कालै आ-आफ्नो विद्यालयमा हाजिर भई इमानदारीपूर्वक पठनपाठनमा लाग्न निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्