काठमाडौं- हरेक वर्ष जस्तै यस वर्ष पनि जनैपूर्णिमामा लाग्ने गोसाइँकुण्ड मेला यहि साउन २९ देखि भाद्र ४ गते सम्म लाग्दै छ । धार्मिक तथा पौराणिक महत्व रहेको गोसाइँकुण्डमा जनैपूर्णिमामा विशेष मेला लाग्ने गरेको छ ।
समुद्री सतहदेखि ४ हजार ३ सय ८० फिटको उचाइमा रहेको गोसाइँकुण्ड जिन्दगीमा एक पटक भए पनि जानैपर्ने धार्मिक मान्यता छ । त्यसैले पनि प्रत्येक वर्ष हजारौँको संख्यामा दर्शनका लागि भक्तजनहरु त्यहाँ पुग्ने गरेका छन् ।
परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरेर विषको डाहा शान्त पार्न हिमालय खण्डको काखमा आएर शिवजीले त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पति भएर त्रिशूल धाराको पानीबाट गोसाई कुण्डको उत्पति भएको किंवदन्ती रहेको पाइन्छ। कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षा पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौैँ हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् ।
पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरी वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन्।
गोसाइँकुण्डसम्म पुग्नका लागि नुवाकोटको दुप्चेश्वर गाउँपालिकाहुदैँ जान सकिने नयाँ पदमार्गको समेत निर्माण भएको छ । गोसाइँकुण्ड जानका लागि रसुवाको धुन्चे हुदैँ जाने गरेकोमा अब भने छोटो र सहज यात्राका लागि दुप्चेश्वर महादेवको दर्शन गर्दै गोसाइँकुण्ड जान सकिने भएको छ । पशुपतिनाथको पर्यायको रुपमा परिचित दुप्चेश्वर हुँदै शिशिपु, तालु, फेदि, सुर्यकुण्ड दुधकुण्डको अवलोकन र स्नान गर्दै गोसाइँकुण्ड पुग्न सकिन्छ ।
उक्त पदमार्ग हुदैँ गोसाइँकुण्ड जानका लागि काठमाडौंबाट जानका लागि सामाखुसीबाट टोखा छहरेको बाटो हुदैँ नुवाकोटको लिखु गाउँपालिकामा रहेको चौघडा पुल तरेर दुप्चेश्वर महादेवको मन्दिर तर्फ यात्रा गरि मन्दिर दर्शन गर्दै सोहि बाटोबाट १० किमीको यात्रामा घ्याङफेदी पुग्न सकिन्छ । त्यस पश्चात ५ किमीको यात्रामा सिसिपु पुगिन्छ । त्यहाँबाट भने अब पैदल यात्रा गर्नुपर्ने हुन्छ । त्यहाँबाट १ घण्टा ३० मिनेटको पैदल यात्रा पश्चात तालु पुगिन्छ । तालुबाट ४ घण्टाको यात्रा पश्चात थाइ विमान दुर्घटना स्थल पुगिन्छ । त्यस पश्चात १ घण्टा ३० मिनेटको यात्रामा फेदी र त्यहाँबाट ३ घण्टा यात्रा गरे पश्चात सूर्यकुण्ड पुगिन्छ । सूर्यकुण्डबाट १ घण्टा हिडेर गन्तव्य स्थल गोसाइँकुण्ड पुग्न सकिन्छ । यसरी हेर्दा नुवाकोट दुप्चेश्वको बाटो प्रयोग गरी काठमाडौंबाट बिहान हिड्दा साझँसम्ममा गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ ।
त्यस्तै नुवाकोट सदरमुकाम विदुरबाट पनि दुप्चेश्वर मन्दिर पुगेर सोहि मार्गबाट जान सकिने छ ।
दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापाका अनुसार, तालुबाट एकै दिन गोसाइँकुण्ड पुग्न सकिने यो रुट छोटो रुट हो । गत बर्षबाट तालु देखि फेदि सम्मको जङ्गलमा डुङ्गाको सिडि निर्माणगरिएको छ । बाटोमा विश्राम गृहहरु ,फोहोर ब्यवस्थापन गर्ने डस्टबिनहरु का बनेका छन । साथै पदमार्गमा , बिश्रामगृह, काठेपुल, फोहोर ब्यवस्थापनको निर्माण मात्र होइन यात्रुहरूको सत्कार, खाना एवम् बासको लागि होम स्टे ब्यवस्थापन समेत गरिएको छ ।
सहज रुपमा एकै दिनको यात्रामा गोसाइँकुण्ड पुग्न सकिने यस मार्गको प्रयोग गर्नकालागि मेला जानुहुने समस्त भक्तजनलाई दुप्चेश्वर गाउँपालिकाको अनुरोध समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस्