प्रस्तुति : डा. श्रीराम खनाल धादिङ जिल्लाको सुनौला वजार नेवारपानीमा वि.सं. २०१० साउन १८ गते पिता पदम प्रसाद अधिकारी र माता दुर्गा देवी अधिकारीको कोखवाट जन्मनु भएको रमेशचन्द्र अधिकारी नेपालका प्रसिद्ध प्राध्यापक तथा साहित्यकार हुनुहुन्छ । उहाँले राजनीतिशास्त्रमा स्नातकोत्तर,संस्कृत साहित्यमा आर्चाय एवं धर्मशास्त्रमा विद्यावारिधि गर्नु भएको छ ।राजनीतिक दर्शनको इतिहास,पद्मदुगा (महाकाव्य),देशदर्शन (नियात्रा), भामहमतेकाब्यस्यः स्वरुपम्,कौटल्य मनु याज्ञवल्कस्य सिद्धान्त मूलकस्य लिच्छवीकालिक शासन प्रबन्धस्यविश्लेषणात्मक अध्ययनम्, जीवनदर्शनको रुपरेखा, वेलायतको वैभव,सीतायन लगायत दर्जनौ कृतिका ग्रन्थकार अधिकारी पूर्वीय दर्शनका ज्ञाता मानिनुहुन्छ ।
नेपालको जेठो र ठूलो विश्वविद्यालयका रुपमा रहेको त्रिुभवन विश्वविद्यालयमा चार दशक प्राध्यापन गरेर अवकाश पाएका प्राध्यापक अधिकारी अहिले स्वदेश तथा विदेशी विश्वविद्यालयमा रही अतिथि प्राध्यापकपमा पूर्वीयदर्शन प्राध्यापन गर्नुहुन्छ । सीतायन महाकाब्य नारीलाई प्रमुख पात्र बनाएर लेखिएको संभवत् नेपाली साहित्यको ठूलो ग्रन्थ हो । जसमा ९२ हजार श्लोक शास्त्रीय छन्दका कविताहरु सङ्ग्रहित छन् । त्यसो त महाकाव्यका १४ खण्ड प्रकाशित भइसकेका छन् । हालै उहाँ बेलायत भ्रमणबाट स्वदेश फर्कनु भएको छ र सीतायन् महाकाव्यको १५ औ खण्ड प्रकाशनको तयारीमा हुनुहुन्छ ।
प्रस्तुत छ समसामयिक साहित्यका सेरोफेरोमा रहेरे उहाँसँग गरिएको कुराकानीः
कहिले देखि काव्य लेख्न थाल्नुभयो ? २०५२ देखि सालदेखि काव्य (पद्यमा) लेखन यात्रा शुरु गरेको हुँ । यस अघि गद्यमात्र लेख्थे ।
तपाईले लेख्नु भएको पहिलो कविता नि ? घाँसीले गरीब भएर पनि घाँस काटेर कुवा खनाएको र किर्ति कमाएको बारेमा २०५२ सालमा कविता यस्तो कविता लेखेको थिए । यो नैे मेरो पहिलो काव्य हो । घाँसीमाधन थेन तैपनिथियो मन्को धनित्यो थियो काटी घाँस सधै गएर उसले पैसा कमाईलियो ।। भक्तैमा तर भानुका घर थिए जम्मा धनैका विटा । खिन्नै थिएन हुदा वढाई रहने श्रीबृद्धि उनका सदाः ।।
केले तपाईलाई साहित्य लेख्न प्रेरित गर्यो ? आर्थिक अभाव र दुखवाट मुक्तिपाउन र पढाई भन्दा पनि अन्य कुरावाट मुक्ति पाउन कविता लेख्न थाले ।
तपाईको जीवनमा प्रेरणाका स्रोतहरु को को हुन ? पूर्वीय साहित्यका महाकवि कालिदास र पश्चिमेली साहित्यकार शेक्सपियर मेरो लेखनका प्रेरणाका स्रोत हुन ।
सीतायन किन लेख्नुभयो ? नारीलाई प्रमुख पात्र बनाएर कालिदासले साकुन्तल महाकाब्य लेखेका थिए । मैले पनि महिलालाई पात्र बनाएर नारी स्वतन्त्रताको नाममा आएको विखण्डन कम गर्न सीतायन लेख्ने जमर्को गरेको हुँ । विश्वमा महिलाहरुलाई सहनशिलताको सन्देश दिन पारिवारिक सद्भाव र सुसम्वन्ध कायम गर्न एवं नारी पुरुष दुबैले त्याग गर्न सक्नुपर्दछ भन्ने बुझाउन सीताजीले हिडेको वाटो रोज्न नारीलाई पतिब्रती वन्न,धर्मको बाटो सिकाउन र मातृजातिको सम्मान गर्नुपर्ने सन्देश सीतायनले दिएको छ । नारी र पुरुषवीच जातीय विभेद होइन लिङ्ग भेद मात्र हो भन्ने सन्देश हो ।
त्यसो भए रामायण र सीतायनमा के फरक छ त ? पुरुषको मार्ग नीति रामायणमा छ । सीतायनमा मातृ जातिको अग्रस्थान छ । त्रेता युगमा रामायण लेखियो । तर सीतायत २१ औ र २२ औ शताव्दीको समाजको आँखाले लेखिएको छ । त्रेता युगीन समकालीन समाजको चित्रण रामायणले गरेको छ । रामायणले कथानकपक्रियो विषयवस्तुको नयाँ पन दिएन । यो घटनाप्रधान भयो । पूर्वीय समाजको मात्र चित्रण गर्यो रामायणले । तर सीतायनले पाश्चात्य र पूर्वीय दुबैलाई तानिरहेको छ यसको अन्र्तवस्तु फरक छ ।
सीतायनको १५ औ खण्ड लेखिसक्नु भएको छ ? सीतायन महाकाब्यको अन्तिम खण्ड वा समापन चाहि कहिले हुन्छ ? यो मेरो आयुमा पनि भर पर्दछ । इच्छा छ र निरन्तर लेखिरहेको छु र जीवनरहेसम्म लेखि नै रहन्छु ।
यति धेरै लेख्ने उर्जा के ले दिन्छ तपाईलाई ? सम्पत्ति मोह भएन । सम्पत्ति केही होइन भन्ने थाहा पनि छ तर जीवन चलाउन लोभमा रहनुपर्ने रहेछ ।
कुन समयमा लेख्नु हुन्छ काब्य ? नियमित राती १२ बजे देखि ४ बजेसम्म लेख्छु । यात्रागर्दा र विरामीपर्दा व्यबधान हुन्छ नत्र अरु समय लेखिरहन्छु ।
लेख्नु अघि शव्द तौलनु हुन्छ कि हुदैन ? अनुभूतिलाई काब्य (कविता) मा पोख्छु ।
तपाईको विचारमा साहित्य के हो ? साहित्य समाजको ऐना वा दर्पंण हो । यसमा व्यक्तिको कल्याण बोेलेको हुन्छ । व्यक्ति कसरी सच्चा मनुष्य बन्ने त्यो कुरा साहित्यमा हुन्छ । व्यक्ति व्यक्ति मिलेर परिवार, परिवार परिवार मिलेर समाज र समाज समाज मिलेर राष्ट्र बनेको हुन्छ । राष्ट्र राष्ट्र मिलेर विश्व बन्छ । त्यो कुरा साहित्यमा प्रष्फुटन हुन्छ ।
तपाईको विचारमा संंसारमा ठूलो कुरा के हो ? सद्कर्म वा सुकर्म गर्नु ।
तपाई आफ्नो लेखाईबाट सन्तुष्ट हुनुहुन्छ ? छैन । योग्यताको कमी महसुस हुन्छ । गतिलो वा स्तरीय लेख्न सकिएन भन्ने चिन्ता छ । लेखेर अघाइएन र ज्ञानले पुगेन ।
तपाई महाकाव्य लेख्न चाहने व्यक्ति वा स्रष्टालाई के सन्देश दिनुहुन्छ ? नयाँ चिन्तन, सोच र दृष्टिकोण सहित समाज उपयोगी लेख्न आग्रह गर्दछु ।
तपाईलाई मनपर्ने स्रष्टाहरुको नाम लिनुपर्दा कस कसको नाम लिनुहुन्छ ? पूर्वीयमा संस्कृत साहित्यका महाकवि कालिदास र उपन्यासकार वाण भट्ट । पश्चिमका महान नाटककार शेक्सपियर, चिन्तकप्लेटो । अनि चिन्तक कार्लमाक्स । नेपाली बाङ्मयका मूर्धन्य प्रतिभाहरु देवकोटा र लेखनाथ ।
तपाईलाई यति ठूलो साहित्यिक ग्रन्थ लेख्ने जाँगर कसरी प्राप्त भयो ? म आफूलाई साहित्य, दर्शन र राजनीतिका ग्रन्थहरु अध्ययन अध्यापन गर्ने मौका मिल्यो । यसरी प्राप्त ज्ञानलाई अरु माझपनि बाँड्न मन लाग्यो । जीवनमा धन सम्पत्ति बैभव नरहने रहेछ । साहित्य स्थायी चिज लाग्यो, जीवनको अरु विकल्प देखिएन । मानिसको कीर्ति र विचार पढिने कुरा हो । कीर्तिको मायाले लेख्न प्रेरित गर्यो । त्यसैेले संस्कृतमा भनिन्छ –कृतियशः सः जीवति ।
सीतायन मार्फत् तपाईले दिन खोज्नु भएको सन्देश चाहि के हो नि ? नारी र पुरुष एक रथका दुई पाग्रा हुन । नारी र पुरुष मिलेर सृष्टि हुन्छ । परिवार,गाँउ, समाज र विश्व बन्छ । सीतायन आख्यानको ग्रन्थ होइन र यो नैतिक आचरणका कुरा सिकाउने ग्रन्थ हो । सीताजीको मुखवाट रावणलाई कसरी आदर्श बन्ने र राज्यको परिकल्पना विखण्डनवादी नबन र राम्रो अभिभावक बन भनी सिकाएको सुपाठ सीतायन महाकाब्यले दिएको छ जुन सर्वकालिक छ ।
सीतायनको पन्ध्रौ खण्डमा के छ ? छोटकरीमा बताइदिनुस । सीतायनको पन्ध्रौ खण्डमा मानिस कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा नैतिक शिक्षालाई जोड दिइएको छ । बैदिक दर्शनले प्रतिपादन गरेको नैतिक आदर्शको विषय र सन्दर्भमा काव्य लेखिएको छ ।
नेपाली साहित्यकर्मीले भोग्नु परेका प्रमुख समस्याहरु के के हुन् ? पहिला स्रष्टाका समस्या । स्तरीय लेख्न नसक्नु,साहित्य नारावाजी भयो, समाज चित्रण सुन्दर र बस्तुनिष्ठ भएन । साहित्यकारहरु पनि गुटवन्दी भए । हाम्रा प्रकाशन गृह पनि पाठ्यपुस्तक मात्र छाप्ने भए, साहित्य सिर्जनालाई स्थान दिने साहित्यीक ग्रन्थ प्रकाशन गर्ने प्रकाशन गृह भएनन् । भएका पनि नाफा खोज्ने भए । सरकारी स्तरवाट खास पहल हुन सकेन ।
तपाई राजनीतिशास्त्रको प्राध्यापक पनि हुनुुहुन्छ ? नेपालको राजनीतिलाई कसरी हेर्नुहुन्छ ? गणतन्त्र आयो,संस्कार बनेन । पश्चिममा संस्कार छ । हामीकहाँ राजनीतिक संस्कारको विकास हृुन सकेन । शक्तिको सदुपयोग भएन । सत्तामा जानमात्र राजनीतिको उद्देश्य होइन, जनसन्तुष्टी महत्वपूर्ण कुरा हो जस्तो मलाई लाग्छ ।
नैतिकता र राजनीतिको बारेमा नि ? अहिलेको राजनीति धर्म,कर्तव्य र आर्दशबाट विमुख,नधोएको कपडा जस्तो,नकेलाएको चामलको भात जस्तो भयो ।
तपाईले विश्वका धेरै मुलुकहरु भ्रमण गर्नु भएको छ । तपाई हालसालै बेलायत भ्रमणवाट स्वदेश फर्कनु भएको छ । त्यसमध्ये बेलायतको स्टेटफोर्ड जहाँ शेक्सपीयर जन्मथलो छ । त्यो ठाँउ भ्रमण गर्दा कस्तो महसुस भयो ? रोमाञ्चित भए । हर्षआँश्रु भयो । संग्रहालयमा सबै कुरा देखे । बडो राम्रो र सुरक्षित ढंगवाट शेक्सपियरको जन्मथलोको संरक्षण गरेको पाए । शेक्सपीयर जन्मेको ठाँउमा साढे एक घण्टा विताए ।
र अन्त्यमा राजनीति र साहित्य प्रति तपाईको टिप्पणी । हामीकहाँ गतिलो साहित्य निष्ठा भएन । साहित्यकार पनि पार्टी सन्निकट र राजनीतिक एजेन्डा बोक्ने भएछन् । साहित्यकारलाई कुनै राजनीतिक कलर दिनु हुदैन । उ राष्ट्रको गहना हो । उसलाई राजनीतिमा मुछ्नु हुदैन । पहिले प्रजातान्त्रिक समाजबाद थियो । अहिले सबै नेता गाली गलौजमात्र गर्छन । राजनीति समाज सेवाको पाटो भएन । व्यक्तिवाद बढ्यो ।
प्रतिक्रिया दिनुहोस्