तारकेश्वर नगरपालिकाका एसईई उत्तीर्ण विद्यार्थीहरू सम्मानित

| २०८३ जेठ ९ गतेमा प्रकाशित

काठमाडौंं- हालै सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तीर्ण भएका काठमाडौँको तारकेश्वर नगरपालिकाका विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ । शनिबार 'परिवर्तन अभियान नेपाल' ले तारकेश्वरका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरू नै देशको भविष्य भएको बताउनुभयाे । उहाँले शिक्षामा केवल किताबी ज्ञान मात्र नभई अनुशासन र नैतिक मूल्य मान्यताको पनि उत्तिकै महत्त्व हुनेमा जोड दिनुभयाे । नेता केसीले विद्यार्थीहरूलाई जीवनको यो नयाँ खुट्किलोमा सही निर्णय लिन र आफ्नो रुचि अनुसारको विषय छनोट गर्न सुझाव दिनुभएकाे थियाे ।

कार्यक्रममा सांसद खुश्बु ओलीले सफल विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयाे । सांसद ओलीले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न सुझाव दिँदै आफूले १६ वर्षकै उमेरदेखि काम गर्न थालेको अनुभव सुनाउनुभयाे । उहाँले भन्नुभयाे, "पढाइसँगै सीप र काम गर्ने बानी बसाल्नुस्, यसले तपाईंलाई आर्थिक रूपमा मात्र होइन, अनुशासित पनि बनाउँछ।" साथै, उहाँले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई अरूसँग तुलना नगर्न र उनीहरूको रुचिको विषय पढ्न दिन आग्रह गर्नुभयाे । उहाँले नेपालमै भविष्य खोज्न सकिने वातावरण निर्माणका लागि आफूहरूले सदनमा नीतिगत तहमा काम गरिरहेको समेत बताउनुभयाे।

यसैगरी सांसद केपी खनालले आफ्नो बाल्यकालदेखिको सामाजिक यात्रा स्मरण गर्दै विद्यार्थीहरूलाई स्वदेशमै भविष्य खोज्न आग्रह गर्नुभयाे । उहाँले विदेश पलायन हुने प्रवृत्तिको सट्टा नेपालमै बसेर कसरी परिवर्तन ल्याउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयाे । यस्तै सांसद निष्कल राईले विद्यार्थीहरूलाई राजनीतिक र सामाजिक रूपमा सचेत रहँदै देश विकासमा लाग्न प्रेरित गर्नुभयाे ।

यस्तै, परिवर्तन अभियान नेपालका अध्यक्ष सुशील भट्टले विद्यार्थीहरूका लागि संस्थाले आगामी एक महिनासम्म निःशुल्क शैक्षिक परामर्श (काउन्सिलिङ) उपलब्ध गराउने घोषणा गरे । उहाँले आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भोगिरहेका विद्यार्थीहरूका लागि विभिन्न प्लस टु कलेजहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयाे ।

कार्यक्रममा बोल्दै कांग्रेस काठमाडौं सभापति सबुज बाँनिया ले राज्यले नेपालको शैक्षिक शुधारमा ध्यान दिन आवश्यक भएको बताउनुभयो ।

यसैगरी, नगरपालिकाको शैक्षिक अवस्थाबारे चर्चा गर्दै तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालले सामुदायिक र संस्थागत विद्यालयको नतिजामा सुधार आउनु खुसीको कुरा भएको बताउनुभयाे । नगरपालिकाले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट