लोककल्याणकारी विज्ञापन दुरुपयोग भएको सञ्चारमन्त्री डा. तिमिल्सिनाको गुनासो

| २०८३ जेठ ९ गतेमा प्रकाशित

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपर्ने बताएका छन् ।

दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो, रेडियो सगरमाथाको ३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रभित्र वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले त्यसको दुरुपयोग गरिरहेको अवस्था रहेको बताए ।

उनले पाउनुपर्ने मिडियाले सहयोग नपाइरहेको तर नपाउनुपर्नेले दुरुपयोग गरिरहेको विषयमा सञ्चार क्षेत्रबाट बलियो आवाज उठ्न नसकेको टिप्पणी गरे । साथै श्रमजीवी पत्रकार, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्र तथा सरोकारवालाले समेत यस विषयमा पर्याप्त अध्ययन, अनुसन्धान र बहस नगरेको उनको भनाइ थियो ।

मन्त्री तिमिल्सिनाले सरकारी स्रोत जनताको करबाट संकलन हुने भएकाले त्यसको उपयोग पारदर्शी, उत्तरदायी र जनहितमुखी हुनुपर्नेमा जोड दिए । उनले लोककल्याणकारी विज्ञापनमार्फत राज्यले सञ्चार क्षेत्रलाई सहयोग गर्दै आएको उल्लेख गर्दै हरेक वर्ष करिब ३० करोड रुपैयाँभन्दा बढी रकम यस शीर्षकमा खर्च हुने जानकारी दिए ।

उनले अहिलेको मिडिया परिदृश्य केही अलमलिएको, बाटो बिराइएको र असन्तुलित जस्तो देखिएको टिप्पणी गर्दै जनताको हितमा काम गर्ने सञ्चारमाध्यमले मात्रै राज्यको सहयोग पाउनुपर्ने बताए । त्यसका लागि सञ्चार क्षेत्रबाट सुझाव, सहकार्य र सुधारका लागि रचनात्मक बहस आवश्यक रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट