विविध विविधतायुक्त धादिङ जिल्ला सामाजिक, सांस्कृतिक , भौगोलिक एवं ऐतिहासिक आधारमा मात्र होइन अनेक सम्भाव्यताका आधारमा समेत गहकिला र भरिलो जिल्ला हो । हिमालबाट मधेश सम्म फैलिएको भौगोलिक बनावट र वातावरण भाषा व्यवसाय ऐतिहासिक धरोहर जातीय विविधता लोक सांस्कृतिक सम्पन्नता आदिका हेराइमा पनि धादिङ जिल्ला पैदल भ्रमण गर्ने स्वदेशी तथा विदेशी भ्रमण यात्रीहरुका निमित्त अद्वितीय गन्तव्य स्थल हो।
पैदल भ्रमणबाट धार्मिक सांस्कृतिक ऐतिहासिक र प्राकृतिक पक्षसंग तादात्म्य सम्बन्ध राखी आफ्नो अभिलाषा पूरा गर्ने मानव जातिका लागि धादिङमा अनगिन्ती ठाउँहरु छन्। अहोरात्र तपस्याशील हिम श्रृङखलाहरु छन्। वास्तविक मानवीय रहन सहन छन्, जसमा नेपालमा यावत् पक्ष समेटिएका छन् । तिनै मध्यमा पर्दछन् सल्यानकोट त्रिपुरा सुन्दरी भगवतीको मन्दिर जसमा ऐतिहासिक पक्ष र प्राकृतिक मनोरम दृश्य समेटिएका छन् भने प्राकृतिक भरिपूर्णताले सम्पन्न क्षेत्र गणेश पर्वत र गङ्गाजमुनाको सेरोफेरो हो। यी तिनै प्राकृतिक र ऐतिहासिक क्षेत्र एक अर्कामा परस्पर आम्ने साम्ने भएर उभिएका छन्।
धादिङको दाङ्सिङ वा फुलखर्क अथवा गणेश पर्वतको उतु्ङ्ग चुचुरामा गङ्गजमुना झरना छ। गणेश पर्वत श्रङ्खला फुलखर्कबाट गुम्दी, री, लापा, सेर्तुङ , तिप्लिङ , बसेरी बुढाथुम हुँदै रसुवाको जिलिमे र लाङ्टासम्म जोडिएको छ। यस हिमश्रृङ्खलामा धार्मिक पर्यटनका गङ्गाजमुना देखि तातोपानी , सिल्हादेवी , गणेशकुन्ड, पार्वतीकुन्ड , भैरवकुन्ड र कालोदह, सेतोदह, जस्ता अनेकौं पवित्र तीर्थस्थलहरु यहीँ पर्दछन् । र बहुमुल्य खनिज रुबीको खानी पनि यहाँ पर्दछ। गङ्गजमुना क्षेत्रको पत्थरमा त्यहीबाट प्रारम्भ भएको पत्थर गणेशको सूँड जस्तै भएर माथि उठेर ७१३६ फीट माथिसम्म पुगेको छ। त्यसैलाई नै गणेश हिमालको उचाइ विन्दु मानिएको छ।
गणेश पर्वत पृथ्वीको २८१५ उत्तरदखि २८३४ उत्तरी अक्षांशमा र ८४५० पूर्वदेखि ८५०५ पूर्वी देशान्तसम्म फैलिएर रहेको छ। जस्ता खानी , रुबी खानी तथा बुढिगन्डकीको आसपासमा रहेको छ भन्ने अनुमान गरिएको छ। तसर्थ यो क्षेत्रलाई यसक्षेत्रका पाकापुस्ताले कुबेरको ढुकुटी मान्ने गरेका छन्। गणेश हिमलाबाट सुरु भएको अिम श्रङ्खला नै रसुवाको गोसाँइकन्डसम्म पुगेको छ। त्यसैले यसै निकटवर्त क्षेत्रलाई कैलाश पर्वत समेत भनिन्छ । आध्यात्मिक हेराइमा गणेश, कुबेर , र आशुतोष भगवान शिव र हिमालपुत्री पार्वतीको वासस्थान रहेको कारण नै तपोधामको प्रारम्भविन्दु पनि यसै क्षेत्रबाट भएको हो भन्ने यस क्षेत्रमा बसोबास गर्नेहरुबाट मान्यता रहिआएको छ।
पाँचऔंले , निरमसी , जटामसी, रातो च्याउ , शिलाजित पाखनवेद , हाँडेलसुन, बाझो, चिराइतो , यार्सागुम्बा जडिबुटी र प्रसस्त मात्रामा पाइनुका साथै सुनखानी पनि यसै क्षेत्रमा छ भन्ने मान्यता छ। कस्तुरी , मृग , हिमचितुवा, काठेभालु , घोरल, थरल, मनसाँप्रो, न्याउली , बनबिरालो, लोखर्के, डाँफे , मुनाल, कर्याङकुरुङ, मलेवा, वनकुखुरा, तित्रा, कालिज, हुँइचिल, लाटोकोसेरो, तार्के र काली दुबै प्रकारका जुरेली, कुर्ले र तम्से दुबै प्रकारका ढुकुर, र बट्टाई आदि अन्नत प्रकारका पशुपन्छिहरुको वासस्थानले गर्दा पनि याु क्षेत्र आकार्षण केन्द्र विन्दु बनेको छ।वाग्मती प्रदेशका आठ जिल्लामध्ये धादिङ एक जिल्लाका रुपमा रहेर आज परिचित छ ।
धादिङका विशेष प्राकृतिक सौन्दर्य मध्ये गङ्गमजमुना विशिष्ट प्राकृतिक सौन्दर्यले भरिपूर्ण धार्मिक क्षेत्र हो। हुन त गङ्गजमुना अन्यत्र जिल्लाका विविध ठाउँहरुमा पनि नामाकरण गरिएका भेटिन्छन्।तर प्राकृतिक सौन्दर्यले गर्दा अन्यन्त्रका गङ्गाजमुनाका दाँजामा धादिङको गङ्गाजमुना नै नेपालको बढि प्रसिद्व र भ्रमण लायक स्थल सर्वस्वीकार्य छ। जुन स्थानमा गङ्गाजमुना छ त्यसको पुरानो नाम ढाँडाखर्क हो । विशेषतस् नेपालका सुदुरपशिचम क्षेत्रतिर खर्क शब्द प्रसिद्व र परिचालित छ । खर्क भनेको मानव वस्ती नभएको उच्च भु(भाग हो। हिमपात नभएका समयमा भेडाबाख्रा र गाईभैंसि लगेर मानवहरु त्यतै बस्ने गर्दछन्। धादिङको फुलखर्क ,ढाँडाखर्क आदि ठाउँ पनि उच्च भु(भागमा नै रहेको ठाउँ हो।
आध्यात्मिक र धार्मिक परम्परा अनुसार गणेश पर्वत नै पार्वतीका पुत्र गणेशको निवास स्थान हो। त्यही गणेशको सुँडबाट गङ्गजमुना झरनाको उत्पत्ति विन्दु मानिन्छ । गङ्गाजमुनाको निकटमा नै अर्को एउटा धारो वा झरना छ त्यसको नाम कुकुर धारा हो। त्यो धाराको पानी तातो पनि छ। त्यस धाराको पानीमा धेरै प्रकारका कीटनाशक तत्त्व छ भनिन्छ। त्यस धारामा स्नान गरेपछि छालाका असाध्य रोगहरु निको हुने विश्वास गरिन्छ। गङ्गाजमुनाको भौगोलिक बनावट उत्तर तर्फबाट दक्षिणतिर फर्किएको छ। यसको शीर्ष भागमा धेरै फराकिलो समथर भुमि छ। त्यस समथर भुभागमा अनेक प्राकृतिक जडिबुटी र हिमाली चराचुरुङ्गी वन्यजन्तुका रहेका छन्।
प्रत्येक सम्वत्सरको कार्तिक महिनामा पर्ने हरिबोधनी एकादशीको अघिल्लो दिनको दशमीका दिन गङ्गाजमुनामा ठुलो जात्रा लाग्ने गर्छ। जुन सल्यानकोटको न्वागी जात्राको समकक्षी नै हुन्छ। जात्रा तल समथर भुभागमा मानिसहरु जम्मा भएर नाचगान गर्ने रातभर महादेवको आरतीका लागि अखन्ड दीप प्रज्वलन हुन्छ। भने माथि पहरामा महादेवको मन्दिर छ। महादेव भएका ठाउँसम्म जानका लागि ढुङ्गाका सिंडी बनाएर मार्ग निर्माण गरिएको छ। त्यही पहरामा एकहात पनि न छिर्ने प्वाल छ, त्यो प्वालबाट धातुका मुद्रा छिराएमा भित्र भित्र तलसम्म झरेको आवाज बाहिरबाट स्प्रस्टै सुनिन्छ। यस प्रकारको प्राकृतिक सौन्दर्य उदेकलाग्दो पाराको छ। जसलाई ईश्वरको संरचना मानिन्छ । ठीक त्यस्तै सल्यानकोट त्रिपुरा सुन्दरी पनि आश्चर्य युक्त मान्यता भेटिन्छ। सल्यानकोट भगवतीको मूल मन्दिर निकट ढुङ्गैढुङ्गाको पहरो र भिर छ।
प्रतिक्रिया दिनुहोस्