फेवातालको आकाशमाथि पुनः प्याराग्लाइडिङ

| २०८२ जेठ ९ गतेमा प्रकाशित

पोखराको आकाशमा हुँदै आएको साहसिक खेल प्याराग्लाइडिङ पहिलेकै ठाउँमा फर्केको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु अघिदेखि उडान र अवतरणको स्थान पहिले भइरहेको ठाउँभन्दा करिब ५ किलोमिटर पर मान्दे्रढुंगा र पामेमा सारिएको थियो । अब फेवाताल माथिको आकाशमा कावा खाँदै ताल किनार चंखपुर र खपौदीमा अवतरण गर्न पाइने भएको छ ।

प्याराग्लाइडिङका कम्पनीहरूको छाता संगठन नेपाल हवाई खेलकुद संस्थाले सुरुदेखि नै अन्तर्राष्ट्रिय अभ्यास र सुरक्षाका दृष्टिले पुरानै ठाउँबाट उडान र अवतरण गर्दा कुनै फरक नपर्ने बताउँदै आएका थिए । बिभिन्न देशमै पुगेर यस विषयमा अध्ययनसमेत गरेर टोलीले बारम्बार नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० लाई सुझाएको थियो ।


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका एटीसी प्रमुख योगेन्द्र कुँवरले क्यानसँगको छलफल र धेरै अध्ययनपश्चात् ताल किनार खापौदीमा प्याराग्लाइडिङ अवतरणको अनुमति प्राप्त भएको बताए । प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षाको विषयमा कुनै सम्झौता नहुने भन्दै सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।


प्याराग्लाइडिङको एकल उडान रोकीएको विषयमा पनि अध्ययन भइरहेको र अध्ययनपश्चात पुनर्निणर्यमा पुगिने एटीसी प्रमुख कुँवरले जनाए ।

पोखरा भ्रमण वर्ष २०२५ का संयोजक तथा पोखरा पर्यटन परिषदका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले प्याराग्लाईडिङ पोखराको पर्यटन उद्योगमा महत्वपूर्ण पक्ष रहेकोले यसलाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिए ।

 

पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले एकल उडान नहुँदा पोखरामा एक्लै उडान भर्न आउने सयौं पर्यटक आउन रोकीएको भन्दै पुनः एकल उडानको अनुमति दिन अनुरोध गरे ।

 

पोखरामा हाल ५७ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । पोखराको प्याराग्लाईडिङ व्यवसायमा करिब एक अर्व लागेको नेपाल हवाई खेलकुद संस्थाका पूर्व अध्यक्ष योगश भट्टराईले बताए । प्याराग्लाईडिङ व्यवसायमा २७० जना प्यारापाइलटले रोजगारी पाएको पनि उनले बताए । यति धेरै लगानी र रोजगार दिएको प्याराग्लाइडिङ व्यवसायलाई राज्यले प्रबद्र्धन र विकासमा सहयोग गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट