नौकुण्डको सेवा काठमाडौंमा

सेवाग्राहीलाई गाउँमै पुगेजस्तो सुविधा

| २०८३ भदौ १ गतेमा प्रकाशित

काठमाडौं- नागरिकको नजिकको सरकारका रुपमा काम गरिरहेको स्थानीय तहले सहज सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै आएको छ । सोहि अनुरुप हिमाली जिल्ला रसुवाको नौकुण्ड गाउँपालिकाले पनि आफ्ना सेवाग्राहीको हित र सहजतालाई ध्यानमा राख्दै पालिकाको सेवा संघीय राजधानीसम्म पुर्याएको छ ।

गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविर सम्पन्न गरेको छ । गाउँपालिकाले विभिन्न सरकारी सेवा लिन गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले काठमाडौंको बालाजुस्थित नागार्जुन इभेन्ट म्यानेजमेन्ट एन्ड पार्टी प्यालेसमातीन दिने शिविर सम्पन्न गरेको छ ।

नौकुण्ड गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सरमथली, रसुवाको आयोजनामा साउन २९ देखि ३१ गतेसम्म तीन दिन सञ्चालन भएको शिविरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण तथा घटना दर्तासहित वडा कार्यालयबाट उपलब्ध हुने विभिन्न सिफारिससम्बन्धी सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य बहादुर तामाङले बताए । शिविर हरेक दिन बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको उनले बताए ।

शिविरमा पालिका अन्तरगतका १ देखि ६ सम्मका वडाहरुबाट २५२ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण, घटना दर्ता ३३ जना, १४२ जनाको राष्ट्रिय परिचयपत्र वितरण, ४३ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ । त्यस्तै ८ वटा व्यवसाय नविकरण र एउटा व्यवसाय खारेजि गर्नुका साथै अन्य ८६ जनाको सिफारिसको काम भएको प्रमुख प्रशासकीय अधिकृत तामाङले बताए ।

सामाजिक सुरक्षा भत्ता नवीकरण तथा दर्ता, राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा र व्यक्तिगत घटना दर्तालगायतका कामका लागि काठमाडौंदेखि गाउँपालिकासम्म पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि नौकुण्ड गाउँपालिकाबाट काठमाडौं उपत्यकामा बसोबास गरिरहेका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङवो घलेले बताए ।

त्यस्तै, गाउँपालिकाका विभिन्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिससम्बन्धी सेवासमेत एकै स्थानबाट उपलब्ध गराइएको अध्यक्ष घलेले बताए । उनका अनुसार, नागरिकहरु काठमाडौंदेखि सोहि कामका लागि गाउँपालिकाको कार्यालयसम्म पुग्न लाग्ने समय र खर्च दुवैको बचत हुने र सेवाग्राहीलाई सरकार साथमा भएको महशुस गराउनका लागि यस शिविरको आयोजना गरिएको हो ।

शिविरमा सहभागि एक सेवाग्राही भन्छन्- “१० मिनेटमा हुने कामका लागि काठमाडौंदेखि गाउँसम्म पुग्नुपर्दा निकै दुख पाइन्थ्यो तर गाउँपालिकाले हामि बसेकै ठाउँमा सेवा दिदाँ हामिलाई धेरै सहज भएको छ । साथै सबै काम एकै ठाउँबाट हुँदा काठमाडौंमै नौकुण्ड गाउँपालिकाको कार्यालय भए जसरी काम भयो । गाउँसम्म जाने समय र पैसा दुवैको बचत पनि भयो ।”

भौगोलिक रुपमा विकट रहेको नौकुण्ड गाउँपालिकाले नागरिकको आवश्यकता र सहजतालाई उच्च प्राथमिकता राख्दै आयोजना गरेको तीन दिने शिविरबाट लाभाम्बित सेवाग्राहीहरु उक्त सेवाबाट खुसी देखिएका छन् । यस किसिमका कामले नागरिक, जनप्रतिनिधि, कर्मचारी र स्थानीय सरकारबिचको सम्बन्धलाई थप मजबुद बनाउने विश्वास आयोजकको रहेको छ ।

स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवालाई नागरिकको पहुँचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको शिविरमा सेवाग्राहीको सहजताका लागि आवश्यक कर्मचारी तथा प्राविधिक जनशक्ति गाउँपालिकाले परिचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट