विपद्का बेला बीमितको घरदैलोमै पुगेर शिखर इन्स्योरेन्सद्वारा ४५ लाखभन्दा बढी दाबी भुक्तानी

| २०८३ असोज २३ गतेमा प्रकाशित

नुवाकोट- विपद्का समयमा बीमितलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, नुवाकोट शाखाले बाढीबाट प्रभावित बीमितलाई स्थलगत रूपमा उपस्थित भई बीमा दाबी रकम भुक्तानी गरेको छ।

असोज २२ गते शिखर इन्स्योरेन्स कम्पनीको नुवाकोट शाखाले भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित विदुर नगरपालिका–७ का बीमितलाई कुल ४५ लाख ९७ हजार १०८ रुपैयाँ दाबी रकम भुक्तानी गरेको हो।

नुवाकोट शाखाका कर्मचारीको उपस्थितिमा विदुर नगरपालिका–७ को वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा अध्यक्ष रवीन्द्र नेपाल तथा विदुर नगरपालिकाको पशुसेवा शाखा प्रमुख डा। सुजाता अधिकारीको रोहबरमा दाबी रकम भुक्तानी गरिएको शाखाका प्रमुख सुरेन्द्र राईले बताए ।

बाढीका कारण पशुपन्छी, घर तथा सवारीसाधनमा क्षति व्यहोरेका १६ जना बीमितले गरेको कुल ४२ वटा दाबीमध्ये विभिन्न शीर्षकमा रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

भुक्तानी विवरणअनुसार ३ हजार लेयर्स कुखुराको क्षतिबापत १२ लाख ८२ हजार ८५८ रुपैयाँ, २४ वटा बाख्रा, ८ वटा गाई र ४ वटा भैँसीको क्षतिबापत १६ लाख २४ हजार ३५० रुपैयाँ तथा बाढीले बगाएको एउटा स्कुटरको क्षतिबापत १ लाख ८९ हजार ९०० रुपैयाँ भुक्तानी गरिएको छ।

त्यस्तै, घर बीमा तथा घरधनीसम्बन्धी दाबीमा कुल २७ लाख ५० हजार रुपैयाँमध्ये १० लाख रुपैयाँ अग्रिम भुक्तानी गरिएको जनाइएको छ।

बाढीका कारण आर्थिक तथा भावनात्मक रूपमा ठूलो क्षति व्यहोरेका बीमितलाई बीमा दाबी रकमले राहत पुग्ने अपेक्षा गरिएको प्रमुख राईले बताए । विपद्का बेला बीमितलाई आवश्यक सहयोग, सहजीकरण तथा सेवा प्रदान गर्न स्थलगत रूपमै उपस्थित भएर दाबी भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

प्रमुख राईका अनुसार, ग्राहकलाई दुःख परेको समयमा साथ दिने उद्देश्यअनुरूप शिखर इन्स्योरेन्सले आफ्नो मूल नारा “दुःख पर्दाको साथी” लाई व्यवहारमा उतार्ने प्रयास गरेको छ। विपद्का कारण क्षति व्यहोरेका बीमितलाई समयमै राहत उपलब्ध गराउने यस्ता कार्यले बीमाप्रतिको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट