नुवाकोटमा YCL नेपालको राहत तथा उद्धार अभियान तीव्र

| २०८३ भदौ २० गतेमा प्रकाशित

नुवाकोट— भाद्र १० गतेको बाढी तथा विपद्बाट प्रभावित नुवाकोटका नागरिकलाई राहत तथा सहयोग पुर्‍याउन योङ कम्युनिस्ट लिग (YCL) नेपाल सक्रिय भएको छ। YCL नेपालले नुवाकोटको तुप्चे, त्रिशूलीपारि लगायत विभिन्न बाढी प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरमा पुगेर राहत सामग्री वितरण गरेको हो।

निवर्तमान सांसद तथा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजन दाहाल, YCL नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली र नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेल नेतृत्वको टोलीले प्रभावित क्षेत्रमा पुगेर राहत वितरण तथा उद्धार कार्यमा सहभागिता जनाएको छ।

YCL नेपालले ‘विपद्मा परेका नागरिकहरूको दुःखमा साथ र सहयोगका लागि YCL नेपाल निरन्तर अभियानमा’ भन्ने नारासहित राहत तथा उद्धार अभियान सञ्चालन गरेको जनाएको छ। विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै आगामी दिनमा पुनःस्थापनाका लागि हजारौँ युवा, स्थानीय समुदाय र सरकारसँग सहकार्य गरी निःशर्त स्वयंसेवामा खटिने YCL ले जनाएको छ।

YCL नेपालका अनुसार राहत अभियानअन्तर्गत ९२ वटा डसना, ९० वटा तन्ना, ५० वटा पोलार (ओढ्ने), करिब १०० जनाका लागि बालबालिकाका कपडा, २ रोल म्याट, २ दर्जन हर्लिक्स, १०० जोर चप्पल लगायतका सामग्री वितरण गरिएको छ।

त्यस्तै, विभिन्न स्टेशनरी सामग्री, औषधि, चामल, दाल, नुन तथा अन्य खाद्य सामग्रीसमेत प्रभावित परिवारलाई उपलब्ध गराइएको छ। उद्धार तथा सरसफाइमा आवश्यक पर्ने गैँती, बेल्चा, बुट लगायतका सामग्री पनि वितरण गरिएको YCL ले जनाएको छ।

राहत वितरणसँगै YCL टोलीले त्रिशूलीस्थित पुरानो बजार क्षेत्रमा रहेका बाढीका कारण क्षतिग्रस्त तथा खण्डहर बनेका घरहरूमा जमेको माटो, ढुंगा तथा अन्य सामग्री पन्छाउने कार्यसमेत गरेको थियो।

YCL नेपालले विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट