शान्ति सुरक्षाको सन्देश फैलाउँदै प्रहरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

| २०८३ कार्तिक २४ गतेमा प्रकाशित

दोलखा- नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै चाडपर्वलाई सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउने सन्देशसहित दोलखाको सिंगटीमा जनचेतनामूलक देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत २०८३ कात्तिक २३ गते साँझ इलाका प्रहरी कार्यालय सिंगटीको आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। प्रहरी निरीक्षक विष्णुहरि फुयाँलको नेतृत्वमा खटिएको नौ सदस्यीय प्रहरी टोलीले देउसी–भैलोमार्फत स्थानीय नागरिकलाई शान्ति सुरक्षा र सामाजिक सचेतनासम्बन्धी सन्देश प्रवाह गरेको थियो।

कार्यक्रममा लागुऔषध दुर्व्यसन नियन्त्रण, घरेलु हिंसा न्यूनीकरण, महिला तथा बालबालिकाविरुद्ध हुने अपराधको रोकथाम, ट्राफिक नियमको पालना, चोरी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण र विपद् व्यवस्थापनजस्ता विषयमा जनचेतनामूलक सन्देश प्रस्तुत गरिएको थियो।

परम्परागत देउसी–भैलोको सांस्कृतिक महत्वलाई सामाजिक सचेतनासँग जोड्दै सञ्चालन गरिएको कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध थप सुमधुर बनाउनुका साथै समुदायमा सुरक्षाप्रति सामूहिक जिम्मेवारीबोध गराउने अपेक्षा गरिएको छ।

कार्यक्रममा कालिनाग माध्यमिक विद्यालय परिवारको समेत सहभागिता रहेको थियो। विद्यालय परिवार र प्रहरीको सहकार्यमा सम्पन्न कार्यक्रमले नेपाली संस्कृति संरक्षणसँगै सामाजिक विकृति तथा अपराध नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने सन्देश दिएको छ।

प्रहरी र नागरिकबीचको सहकार्यबाट मात्रै अपराधरहित, सभ्य र सुरक्षित समाज निर्माण सम्भव हुने भएकाले यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ।

‘नागरिकसँग नजिक, सुरक्षामा प्रतिबद्ध’ भन्ने अभियानलाई आत्मसात् गर्दै प्रहरीले ‘प्रहरी र नागरिकको सहकार्य, सुरक्षित समाजको आधार’ भन्ने सन्देशसमेत प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट