प्रमुख प्रशासकीय अधिकृत नपठाएर मौलापुरको बजेट रोक्ने षड्यन्त्र भइरहेको मेयर साहको आरोप

| २०८३ असार २० गतेमा प्रकाशित

रौतहट- मौलापुर नगरपालिकाकी मेयर रिना साहले प्रमुख प्रशासकीय अधिकृत नखटाइ नगरपालिकाको बजेट कार्यान्वयनमा अवरोध सिर्जना गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएकी छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले बजेट कार्यान्वयन र भुक्तानीको महत्वपूर्ण समयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा स्थानीय तह अन्योलमा परेको र बजेट फ्रिज गराउने नियत देखिएको बताइन्।

उनका अनुसार मन्त्रालयले यसअघि सुरेशबाबु घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा मौलापुर पठाएको थियो। तर उनले जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेपछि मन्त्रालयले फिर्ता बोलाए पनि हालसम्म नयाँ अधिकृत खटाइएको छैन।

मेयर साहले यसका कारण नगरपालिकाले सञ्चालन गर्दै आएका निःशुल्क बिजुली, निःशुल्क खानेपानी र ‘छोरीसँग मेयर’ लगायतका जनमुखी कार्यक्रमको भुक्तानी प्रभावित भएको दाबी गरिन्। कृषक अनुदान, बहुपोषण, शिक्षा, स्वास्थ्य तथा सरसफाइसम्बन्धी सेवा प्रवाहमा समेत असर परेको उनको भनाइ छ।

उनले सर्वोच्च अदालतले मौलापुरले विगत आठ वर्षदेखि सञ्चालन गर्दै आएको सिँचाइ, घरायसी विद्युत् र खानेपानी शुल्क छुट कार्यक्रम नरोक्न अन्तरिम आदेश जारी गरिसकेको उल्लेख गर्दै संघीय सरकारबाट भइरहेको हस्तक्षेप अनावश्यक र गैरकानुनी भएको आरोप लगाइन्।

मेयर साहका अनुसार गत चैत १६ गते सरुवा भएर आएका सुरेशबाबु घिमिरे तीन महिनाको अवधिमा करिब २० दिन मात्र कार्यालयमा उपस्थित भएका थिए। त्यसपछि मन्त्रालयले उनलाई फिर्ता बोलाए पनि हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाएको छैन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट