७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता बैशाख २ देखि ५ गतेसम्म

| २०८२ चैत १५ गतेमा प्रकाशित

काठमाडौं । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा ७औं दुप्चेश्वर कप भलिबल प्रतियोगिता आगामी बैशाख २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिता दुप्चेश्वर मन्दिर प्राङ्गणमा आयोजना गरिने गाउँपालिकाले जनाएको छ।

प्रतियोगितामा देशभरका ७५३ वटै गाउँपालिकाबाट टिमहरूले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको मूल समारोह समितिका सदस्य तथा वडा नं। ३ का वडा अध्यक्ष धुर्व केसीले जानकारी दिए। प्रतियोगिताले राष्ट्रिय स्तरमै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाका अनुसार प्रतियोगिताले स्थानीय खेलकुद प्रवर्द्धनसँगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने विश्वास लिइएको छ। साथै, कार्यक्रम सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको पनि जनाइएको छ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३ लाख ३३ हजार ३ सय ३३, द्धितीय हुने टिमले रु २ लाख २२ हजार २ सय २२, तृतीय हुने टिमले रु १ लाख ११ हजार १ सय ११ र सान्त्वना हुनेले रु ५५ हजार ५ सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जानकारी दिए ।

टिम दर्ता प्रक्रिया खुला गरिएको छ भने इच्छुक टिमहरूले यही चैत २७ गते कार्यालय समयभित्र दर्ता गरिसक्नुपर्नेछ। पाँच हजार रुपैँया दर्ता शुल्क बुझाइ टिम दर्ता dupcherumun2017@gmail.com मार्फत गर्न सकिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट