अमेरिकासँग एसपीपी सम्झौता हुँदैन : प्रचण्ड

| २०७९ असार २ गतेमा प्रकाशित

काठमाडौं- सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकारले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको भनेर चलेको हल्ला झुटो भएको बताएका छन्। वर्तमान सरकारले एसपीपी सम्झौता नगर्ने पनि प्रचण्डले 'घोषणा' गरे। 

पार्टीका दिवंगत नेता रित बहादुर खड्काको २१ औं स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले एसपीपी सम्झौता भइसक्यो, हुँदैछ रे भन्याजस्तो गरी प्रचार गरिए पनि त्यो झुटो भएको बताए। 

'हिजोआज एउटा चाहिँ प्रश्न एसपीपी हुँदै छ रे, ल सैनिक सम्झौता हुँदै छ रे भनेर, भइनै सक्यो रे भन्याजस्तो गरी प्रचार गरिएको छ। विल्कुल झुटो हो,' प्रचण्डले भने, 'म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा हाम्रो भएको छलफलमा यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन यो घोषणा म यहाँबाट गर्न चाहन्छु।'

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एसपीपी सम्झौता नहुने भनेर प्रतिवद्धता जनाएको प्रचण्डले उल्लेख गरे। 'प्रधानमन्त्रीजीले म कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर कमिटमेन्ट गर्नुभएको छ। कोही भ्रममा पर्न जरुरी छैन,' प्रचण्डले भने।  

यद्यपि विगतमा सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौताको प्रक्रिया अगाडि बढाएको तथ्य भेटिएको प्रचण्डको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट