नेपाल एयरलाइन्सको जहाज निर्धारित समयमा इजरायल नजाने

| २०८० असोज २४ गतेमा प्रकाशित

काठमाडौं- नेपाल एयरलाइन्सको जहाज निर्धारित समयमा इजरायल नजाने भएको छ । बुधवार राति ११ बजे उड्ने तय भएको जहाज कानूनी प्रक्रिया नमिलेपछि निर्धारित समयमा जान नसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले लोकान्तरलाई दिएको जानकारीअनुसार बुधवार राति रोकिएको जहाज बिहीवार बिहानै उड्नेछ । यद्यपि, समय भने निश्चित भएको छैन । यो जहाज २५० सिट क्षमताको छ । तर २२८ जना नेपालीले मात्र नेपाल फर्कन नाम टिपाएका छन् । कमर्सियल फ्ल्याइटमा आएकाको सबै बिल सरकारले ब्योहोर्ने बताइएको छ । 

यसअघि हमासको आक्रमणबाट मृत्यु भएका १० नेपाली विद्यार्थीको शव पनि यही जहाजमा ल्याइने परराष्ट्र मन्त्रालयले जानकारी दिएको थियो । तर परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले बुधवार आयोजित पत्रकार सम्मेलनमा शव नल्याउने जानकारी दिएकी थिइन् । 

यद्यपि, उक्त जहाजमा इजरायलबाट नेपाल फर्किन चाहने नेपालीलाई भने ल्याइने भएको छ । इजरायलमा सम्पर्कविहीन भएका कञ्चनपुरका विपिन जोशीको खोजीसमेत भइरहेको प्रवक्ता लम्सालले बताएकी थिइन् ।

इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको छ । बचेकाको उद्धारका लागि सरकारले पहल गरेअनुरुप लिन जहाज पठाउन लागेको हो । 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट