मनाङ एअरको उडान अनुमतिपत्र निलम्बन !

| २०८० असोज २७ गतेमा प्रकाशित

काठमाण्डौ– नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अनमतिपत्र एओसी नै निलम्बन गरिदिएको छ । पछिल्लो ३ महिनामा २ पटक दुर्घटना भएको र अब मनाङसँग उडाउन योग्य एउटा पनि साधन नभएकोले उडान अनुमतिपत्र नै निलम्बन गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

अब मनाङसँग उडानयोग्य जहाज र उडान सुरक्षाको भरपर्दो प्रतिबद्धतापछि मात्रै उसलाई एओसी दिइने उनको भनाइ छ । मनाङको एउटा हेलिकप्टर गएको जुलाई ११ तारिखमा सुर्केबाट काठमाण्डौ आउँदै गर्दा लामोजुरामा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो भने अर्को आज दुर्घटनामा परेको छ ।

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेले छोटो समयमा भएको दुइवटा दुर्घटनाले कम्पनीलाई ठूलो क्षति भएको बताए । उनले दुई वटा हेलिकप्टर दुर्घटना हुँदा एकातिर कम्पनीलाई ठूलो क्षति भएको र अर्कातिर उडान अनुमति निलम्बन भएको बताए ।

उनले अर्डर गरेको अर्को हेलिकप्टर चार महिनापछि मात्रै आउने जानकारी दिए । मनाङ एयरको ‘एन–एनजे’ कलसाईन हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाशकुमार सेडाईँ खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

उनको काठमाण्डौको ह्याम्स अस्पतालमा उपचार भैरहेको छ । बिहान सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट