मुसहर बस्तीका बालबालिका तथा सुत्केरी महिलाहरूलाई लत्ताकपडा वितरण

| २०८० कार्तिक १ गतेमा प्रकाशित

रुपन्देही- कुशल व्यवसाय परामर्श तालिम केन्द्रले चन्द्रपुर नगरपालिका वडा नं ४ सन्तपुरमा धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्मित मुसहर बस्तीका बालबालिका तथा सुत्केरी महिलाहरूलाई लत्ताकपडा वितरण गरेको छ । 

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सोमवार ९३ जना बालबालिका र ९७ जना महिला÷पुरुष, र ११ जना सुत्केरी महिला र नाबालक बच्चाको लागि ३७८ थान नयाँ लत्ताकपडा वितरण गरेको हो । 

हिन्दु धर्मालम्बीहरुको महान् पर्वको अवसरमा मुसहर बस्तीका गरिब, दलित तथा विपन्न समुदायका महिला तथा बालबालिकाहरू नयाँ कपडा लगाउनबाट वञ्चित नहुन् भन्ने उद्देश्यले संस्थाले सो कार्यक्रमको आयोजना गरेको जनाइएको छ । 

‘दसैँ जस्तो महान् चाडमा सामाजिक तथा आर्थिक रूपले विपन्न परिवारको नयाँ कपडा लगाउने ईच्छा पुरा गरेर उहाँहरूको मुहारमा खुसीयाली देख्न पाउँदा हामी पनि दङ्ग छौ’ कुशल व्यवसाय परामर्श तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइरालाले भने । 

धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्मित मुसहर बस्तीमा बस्दै आएकी अमृता माझीले पनि चाडबाडमा सबैले बिर्सिएको दलित, मुसहर बस्तीका परिवारलाई सम्झेर कुशल व्यवसाय परामर्शले कपडा वितरण गरिएको खुसी व्यक्त गरेकी थिइन् । ‘दशैको बेला हाम्रो यो दलित बस्तीमा अहिलेसम्म कसैले केही बाँडेको थिएन उहाँहरू आएर घरका सबैलाई नयाँ कपडा दिनुभयो असाध्यै खुसी लागेको छ’ सुन्तली माझीले भनिन् । 

सो कार्यक्रममा मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल माझीले ५१ घरपरिवारलाई नयाँ कपडा वितरण गरेका थिए । 

लत्ता कपडा वितरण कार्यक्रममा स्थानीय बुद्धिजीवी,कुशल व्यवसाय परामर्श तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइराला, कार्यक्रम संयोजक अनिता घिमिरे, कार्यक्रम अधिकृत मिना लोहनी लगायतको उपस्थिति रहेको थियो । निजी क्षेत्रबाट १६ वर्षदेखि उद्यमशीलता र सिप विकाशको लागि तालिम तथा रोजगार प्रदायक संस्थाको रूपमा काम गर्दै कुशल परामर्श तालिम केन्द्रले विगतमा पनि सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । 

विगतदेखि नै गरिब, विपन्न बालबालिकाको संरक्षण, वृद्ध आश्रम, मानव सेवाको सङ्घ सस्ताहरूमा खाद्यान्न,लत्ताकपडा वितरण गर्दै आइरहेको संस्थाका अध्यक्ष कोइरालाले जनाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट