जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै पहिचान खुल्यो।

| २०८० कार्तिक ५ गतेमा प्रकाशित

काठमाडौं –पाल्पाको तानसेन १३, रानीमहल नजिकै जिप दुर्घटनामा परी मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ । आइतबार बेलुकी ५ बजेतिर भएको जिप दुर्घटनामा परी नवलपरासी जिल्ला देवचुली नगरपालिका –१६ रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, लम्जुङ् जिल्ला बेसीशहर नपा २ बस्ने ५५ वर्षीया चुना धिताल रहनुभएको छ । 

यस्तै, देवचुली नपा १६ की ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी र साढे दुई वर्षका इशव लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

घटनामा परी गम्भीर घाइते चालक देवचुलीकै ३५ वर्षीय ईश्वर लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले जानकारी दिनुभयो । घाइते लोहनीको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

रानीमहल पुगेर तानसेनतर्फ फर्किएको बाग्मती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जिप सडकदेखि तल पहाडको खोचमा खसेको थियो । खोचमा खसेको जिप र घाइतेलाई उद्धारमा कठिनाइ भएको थियो । जिप के कसरी कारणले दुर्घटनामा परेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्