शालिन पोख्रेललाई न्याय माग्दै सरस्वती बहुमुखी क्याम्पसद्वारा प्रदर्शन

| २०८० फागुन २२ गतेमा प्रकाशित

काठमाडौँ- सरस्वती बहुमुखी क्याम्पस समितीले मंगलबार शालिन पोख्रेलको लागि न्याय माग्दै क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेको छ । 

चितवनको एकता शिशु निकेतन स्कूलको होस्टेलमा मृत फेला परेकी पोखरेलको लागि न्यायको माग गर्दै सरस्वती क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । 

'जस्टिस फर शालिन पोख्रेल' लेखेको ब्यानर र पम्प्लेट बोकी नारावाजीसमेत गरेका उनीहरूले उक्त घटनाबारे सत्यतथ्य छानबीन गरेर दोषीलाई कारवाही र शालिनको लागि न्याय दिन सरकार समक्ष माग राखेका हुन् । घटनाको सत्यतथ्य छानबिन नभएसम्म सरस्वती बहुमुखी क्याम्पसले चरणबद्ध रूपमा अन्तिमसम्म आन्दोलन गर्ने विद्यार्थीहरुको भनाइ छ  । 

गोरखा अजिरकोट गाउँपालिका- ५ मुच्चोकका दिपेन्द्र पोखरेलकी १४ वर्षीय छोरी शालिन चितवनको रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित होस्टेलमा मृत फेला परेकी थिइन् । 

कक्षा ८ मा अध्ययनरत उनी फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।शालिनका बुवा दीपेन्द्र र आमा सगुनले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन् । 

उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन् । 

शालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट