कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्न भारत-चीन सहमत

| २०८१ माघ १५ गतेमा प्रकाशित

१५ माघ, काठमाडौं । भारत र चीनबीच कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने सहमति भएको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने चीन भ्रमणको क्रममा उक्त सहमति भएको हो । सहमति अनुसार भारत–चीन बीच सीधा हवाई सेवा पनि छिट्टै सुरु गरिने छ ।

भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै सहमति भएका विषयबारे जानकारी दिएको छ । विज्ञप्तिमा लेखिए अनुसार भारतीय विदेश सचिव मिस्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्तापछि ६ बुँदे सहमति भएको छ ।

नदीसँग सम्बन्धित जलविज्ञान तथ्यांक र अन्य सहयोग आदान–प्रदानका लागि छिट्टै विशेषज्ञस्तरीय बैठक बस्न पनि दुवै देशका अधिकारीहरु सहमत भएका छन् । साथै मिडिया र थिंक ट्यांकबीचको छलफल तथा भ्रमणलाई बढावा दिने सहमति पनि भएको छ ।

कैलाश मानसरोवर यात्रा र दुई देशबीच सीधा हवाई सेवा सन् २०२० देखि बन्द छ । सीमा विवादका कारण सम्बन्ध बिग्रिएपछि र कोभिड महामारी त्यसको कारण थियो । सन् २०२० मा गलवान क्षेत्रमा भारत र चीनका सैनिकबीच झडप भएपछि सम्बन्ध बिग्रिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्