स्थानीय तह चुनावका लागि ८ अर्ब ११ कराेड रुपैयाँ बजेट सुनिश्चित

राजनीतिक दलहरूको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिसक्ने

| २०७८ फागुन १९ गतेमा प्रकाशित

काठमाण्डौँ, फागुन १९

आउँदाे वैशाख ३० गतेका लागि तय भएकाे स्थानीय तह चुनावका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । 

निर्वाचन आयोगले गर्ने नियमित पत्रकार भेटघाट कार्यक्रम अन्तर्गत आज बिहीवारकाे कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले २०७९ वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सञ्चालन तथा व्यवस्थापनका लागि आयोगले अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको बताउनुभएको हो ।

स्थानीय तह चुनाव प्रयोजनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका र तिनको अध्ययन भइरहेको भन्दै उहाँले चुनावमा भाग लिने राजनीतिक दलहरूको नाम फागुन २६ गतेभित्र प्रकाशन गरिसक्ने जानकारी दिनुभयो । चुनावमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली पनि आयोगले सम्बन्धित निकायबाट पाइसकेको उहाँले उल्लेख गर्नुभयो ।

आयोगले मतदाता नामावलीमा दाबी विरोध गर्नका लागि फागुन २० गतेदेखि २६ गतेसम्मको मिति तोकेको छ । त्यस अवधिमा मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुटाे विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए त्यसकाे विरोधमा उजुरी दिन पाइने आयाेगले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट