गणतन्त्र दिवसको अवसरमा नुवाकोट र रसुवाका १० कैदीबन्दी रिहा

| २०७९ जेठ १५ गतेमा प्रकाशित

काठमाडौं- १५ औं गणतन्त्र दिवसका अवसरमा नुवाकोट र रसुवाका १० जना कैदीबन्दी रिहा भएका छन्। सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसंगै वन्दी जीवन बिताइरहेका नुवाकोट र रसुवाकागरी १० जना पुरुष वन्दी रिहा भएका हुन्।

सरकारले नुवाकोट र रसुवा जिल्ला कारागारसहित केन्द्रीय कारागार, डिल्लीबजार करागार, नख्खुसहित देशका विभिन्न कारागारबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो। नुवाकोट कारागारबाट वाँकी कैद मिनाहा भएर रिहा हुनेहरुमा नुवाकोटको वेलकोटगढी नगरपालिकाका विना पुर्जी काठसहित पक्राउ परेका मुरली घर्ती, तादी गाउँपालिका सवारी ज्यान मुद्धाअन्तर्गतका आइतमान तामाङ, सोही मुद्धाका म्यागङ घर भएका वीरवहादुर तामाङ, तादीका वरिबाहदुर लामा र काभ्रेका तीर्थमान तामाङ रहेका छन्।

रिहा भएकाहरुमध्ये आदालतले कै सजाय तोकेको अवधिमध्ये दुई जनाले ५० र तीन जनाले ४० प्रतिशत कैद सजाय भुक्तान गरिसकेकाहरु रहेको नुवाकोट जिल्ला कारागारले जनाएको छ। कारागार र जिल्ला प्रशासन कार्यालय नुवाकोटले आचारण तथा अन्य सुधारका आधारमा सात जनालाई वांकी कैद मिनाहा गर्ने सिफारिस गरेर सरकारलाई पत्र पठाएको थियो।

उता नुवाकोटको छिमेकी जिल्ला रसुवा कारागारबाट रिहा हुनेहरुमा पनि ५ जना नै रहेका छन्। रिहा हुनेहरु सवै कर्तव्य ज्यान मुद्धाका रहेको कारागार कार्यालय रसुवाले जनाएको छ।

रसुवाका उत्तरगया गाउँपालिका सुव्वावहादुर विक, खोटाङका सुवास राई तथा छिकेक धादिङको निलकण्ठका दिलमान तामाङ, अनीत तामाङ र आकाश तामाङ बाँकी कैद सजाय मिनाहा भई रिहा रहेका हुन्।

रसुवा कारागार तथा प्रशासनले आचरण तथा अन्य सुधार भएकामध्ये नौ जनालाई सिफारिस गरि पठाएकोमा सरकारले अदालतले तोकेको कुल सजायमध्ये ४० प्रतिशत कैद सजाय भुक्तान गरिसकेकाहरुलाई रिहा गरेको रसुवाका कारगार प्रमुख खेमराज खड्काले जानकारी दिए।

बलात्कार, भ्रष्टाचार, राज्यविरुद्धको अपराधलगायत आधा दर्जन कसुरमा दोषी ठहरिएका बन्दीलाई कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२०मा उल्लेख गरिएको छ। सरकारले ती बाहेक नकारात्मक सूचिमा नपरेको मुद्धामा दोषी ठहर गरी ४० देखि ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेकाहरुलाई सम्बन्धित कारागार कार्यालय, जिल्ला प्रशासन कार्यालयको रायसहितको सिफारिसका आधारमा गणतन्त्र दिवसका अवसरमा सरकारले बाँकी कैद मिनाहा गरी माफी दिएको हो।  अन्नपूर्ण पोष्टबाट  

प्रतिक्रिया दिनुहोस्