तारकेश्वर गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रम र शैक्षिक क्यालेन्डर विमोचन

| २०८० जेठ ५ गतेमा प्रकाशित

नुवाकोट- तारकेश्वर गाउँपालिकाको स्थानीय पाठ्यक्रम विमोचन भएको छ । शुक्रवार गाउँपालिकामा आयोजित एक कार्यक्रम बिच अध्यक्ष शिव अधिकारीले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमसँगै नयाँ शैक्षिक सत्रको शैक्षिक क्यालेन्डर विमोचन गरेका हुन्।

विमोचन पश्चात आजैदेखि गाउँपालिकाभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । संघियता कार्यान्वयनको सातौं वर्षमा गाउँपालिकाले पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गरेको हो । गाउँपालिकाभरका जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यापकहरूको उपस्थितिमा सम्पन्न विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले समाजको सर्वाङ्गीण विकासको आधार नै शिक्षा भएकाले गुणस्तरीय शिक्षाको विकासमा जोड दिनुपर्ने बताए ।

शिक्षाको गुणस्तर सुधारका लागि आफूले सुरु गरेका कार्यक्रमहरू निरन्तर र प्रभावकारी ढङ्गले अघि बढ्ने विश्वास दिलाउँदै उनले केही विद्यालयमा यसै शैक्षिक सत्रदेखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गर्ने तयारी रहेको बताए । पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिँदै अध्यक्ष अधिकारीले पाठ्यक्रमलाई परिष्कृत गर्दै लैजाने बताउँदै त्यसका लागि आवश्यक सल्लाह सुझाव दिन आग्रह समेत गरेका छन्। योसँगै, अध्यक्ष अधिकारीले शिक्षकहरूको तलब कुनै हालतमा रोकिन नहुने भन्दै समयमै तलब भुक्तान गर्न शिक्षा शाखालाई विशेष निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट