जोरघट्ट-तारुका खानेपानी आयोजनाको उद्घाटनसंगै ६५० परिवार लाभान्वित

| २०८० असोज ९ गतेमा प्रकाशित

काठमाडौं- नुवाकोटको तारकेश्वर गाउँपालिकाको महत्वपूर्ण आयोजनाका रूपमा रहेको जोरघट्ट-तारुका खानेपानी आयोजनाको उद्घाटन भएसंगै ६५० परिवार लाभान्वित भएका छन् । जोरघट्ट मुहानको पानी गाउँपालिकाको तारुका आइपुगेसँगै आइतबार गाउँपालिका अध्यक्ष शिव अधिकारीले खानेपानीको उद्घाटन गरेका हुन् ।

दुई वडाका ६५० परिवारलाई समेट्ने यो आयोजनाले दशकौंदेखि तारुकावासीले भोग्दै आएको खानेपानीको समस्या अन्त्य गरेको अध्यक्ष अधिकारीले बताएए । राष्ट्रिय स्तरमा ख्याति पाएको माघेसंक्रान्ति गोरुजुधाइ मेला लाग्ने ऐतिहासिक महत्वको गाउँ तारुकाका बासिन्दा खानेपानीको चरम समस्यामा रहँदै आएका थिए । जोरघट्टको पानी तारुका झरेसँगै त्यस किसिमको समस्याको अन्त्य भएको छ ।

अध्यक्ष अधिकारीले अब तारकेश्वरका कुनै पनि गाउँले काकाकुल बस्ती बनेर बस्न नपर्ने बताए । पानीजस्तो न्यूनतम आवश्यकताको विषयमा आग्रह पूर्वाग्रह र स्वार्थ हावी हुन नहुने भन्दै उनले सबै आयोजनाहरू सम्पन्न गर्ने संकल्प गरे ।

जोरघट्ट खानेपानी आयोजनाबाट तारकेश्वर २ र ३ का ६५० घरधुरी लाभान्वित भएको उपभोक्ता समितिका अध्यक्ष समर बहादुर आलेले बताए । आयोजनाका लागि गत वर्ष प्रदेश सरकारले २५ लाख र गाउँपालिकाले ५२ लाख रुपैयाँ विनियोजन गरेको थियो । बहुवर्षीय योजनाका रूपमा आयोजनाका बाँकी चरणका काम सम्पन्न हुँदै जाने समितिका अध्यक्ष आलेले बताए । खानेपानीका लागि स्थानीयले उत्साहपूर्णरुपमा श्रमदान समेत गरेका थिए ।

आयोजनाको काम लक्ष्यअनुरूप भएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष अधिकारीले पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट गरे । उपभोक्ता समितिले दिएको जानकारी अनुसार, घरघरमा पक्की धारा बनाउने काम दोस्रो चरणमा हुने छ । तारुकावासीले जोरघट्टको पानी सामुहिक रुपमा उपभोग थालिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्