तीन महिनामा वीरगन्ज महानगरले उठायो ६ लाख जरिवाना !

| २०८० कार्तिक १५ गतेमा प्रकाशित

काठमाडौं- वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म बिभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट रु छ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो ।

महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ ।

महानगरका सडक तथा गल्लीमा जथाभावी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दिन मियाँले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट