जाँडरक्सी खानेलाई गाउँपालिकाले गर्यो गज्जबको सम्मान !

| २०८० फागुन १८ गतेमा प्रकाशित

काठमाडौं- पाल्पाको रिब्दीकोट गाउँपालिकाले भने नियमित जाँडरक्सी खाने गाउँका ४० जनालाई गज्जबको सम्मान गरेको छ।

गाउँपालिकाले बिहीबार पालिकाको सभाहलमा जम्मा गरेर नियमित जाँडरक्सी खाने ७ महिला र ३३ पुरुषलाई सम्मान गरेको हो। गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार, ‘खबर गरेका सबै आउनु भएन। जो-जो आउनु भयो, उहाँहरुलाई सम्मानसहित स्वास्थ्य बिमा, उपचार र प्रशिक्षितसमेत गरेका छौँ।’

जाँडरक्सी खानेलाई सम्मान गरे पनि कार्यक्रमको ब्यानरमा भने ‘विपन्न वर्ग (श्रमिक)लाई सचेतना तथा सम्मान’ कार्यक्रम लेखिएको थियो।

सम्मानित हुने ४० जना सबै श्रमिक भएका उनले बताए। ‘काम गरेर खाने वर्गको राज्यले सम्मान गर्नुपर्छ। सोही अनुसार हामीले उहाँहरुलाई सम्मान गरेका हौँ। कार्यक्रममा सहभागी धेरैले जाँडरक्सी छाड्ने प्रतिवद्धतासमेत व्यक्त गर्नु भएको छ,’ अध्यक्ष कार्कीले भने।

उनले आफ्नो पालिकामा नियमित जाँडरक्सी खाएर आफ्नो स्वास्थ्य, घर परिवार र आर्थिक अवस्था दयनीय अवस्थामा पुगेकाहरुको वडा कार्यालयमार्फत् विवरण संकलन गरिएको जानकारी दिए।

कार्यक्रममा सहभागी ४० जनाको जनही ३५ सय रुपैयाँको दरले स्वास्थ्य बिमा पनि गरिएको छ। साथै कार्यक्रममा सहभागीलाई अबिर, माला र खादा पहिर्याएर सम्मानसमेत गरिएको थियो। त्यसक्रममा उनीहरुलाई न्यानो र बलियो खालको एक-एक जोर ट्रयाकसुटसमेत प्रदान गरिएको अध्यक्ष कार्कीले बताए।

कार्यक्रममा सहभागीलाई जाँडरक्सीको नियमित सेवनले सम्बन्धित व्यक्तिको स्वास्थ्य, बालबालिकाको पढाई, परिवार र समाजलाई परिरहेको असरको विषयमा बुझाइएको थियो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, पत्रकार चुडामणि तिमल्सिना, स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारी लगायतले मन्तब्य व्यक्त गरेका थिए। त्यसक्रममा जाँडरक्सीको कुलत छाडेर समाजमा उदाहरणीय जीवन विताइरहका रामप्रसाद न्यौपानेले जाँडरक्सीको कुलतमा पर्दा समाजमा पर्ने नकारात्मक प्रभावको अनुभव सुनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट