भेषभूषा संरक्षण र प्रवर्द्धनकालागि तारकेश्वरका विद्यालयमा जातिय पहिचानसहितको पोसाक कार्यान्वयन

| २०८१ जेठ १५ गतेमा प्रकाशित

काठमाडौं- नुवाकोटको ताकेश्वर गाउँपालिकाले परम्परागत भेषभूषा संरक्षण र प्रवर्द्धनकालागि पालिकामा रहेका विद्यालयहरुमा जातिय पहिचानसहितको पोसाकलाई कार्यान्वयनमा ल्याएको छ । हरेक हप्ताको बुधबार एक दिन शिक्षक, विद्यार्थी, कर्मचारी र विद्यालय नर्सले आफ्नो जातिय पहिचानसहितको पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने निर्णय गाउँपालिकाबाट नै पास भइ कार्यान्वयनमा आएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले बताए ।

पछिल्लो समय हरेक जातजातिले आफ्नो परम्परागत भेषभूषा भुल्दै भएको अवस्थामा हरेक परिवारका बालबालिकालाई आफ्नो पहिरन भुल्न नदिनका लागि गाउापालिकाले गरेको यस किसिमको निर्णय देशभरको पालिकाहरुमा तारकेश्वर गाउँपालिका पहिलो भएको अध्यक्ष अधिकारीको भनाई छ । अध्यक्ष अधिकारीका अनुसार तामाङ जातिको बाहुल्यता रहेको गाउँपालिकामा तामाङ कै छोराछोरीले आफ्नो मौलिक संस्कृतिसहितको पोसाक लगाउन छोड्दै गएको अवस्थामा त्यस्ता परम्परागत पहिरनलाई लोप हुनबाट विद्यालयहरुमा कम्तिमा हप्ताको एक दिन मात्र भए नि जातिय पोसाक लगाउने व्यवस्था गर्दा सबै जातिको परम्परागत भेषभूषा संरक्षण र प्रवर्द्धन गर्नका लागि अनिवार्य रुपमा कार्यान्वयनमा ल्याइएको हो ।

जातिय धर्म, संस्कृति, मेला, पर्व तथा उत्सवहरु संरक्षण र प्रवर्द्धनका लागि यस भन्दा अगाडी देखि नै गाउँपालिकाले सक्दो सहयोग गर्दै आएकोमा यस पटकबाट मौलिक भेषभूषालाई संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यका साथ गाउँपालिकाले उक्त प्रावधान कार्यान्वयनमा ल्याएको हो । गाउँपालिकाले तारुकाको गोरु जुधाई, ल्होछार, तीज, नेवारी मह पूजाँ, खैचडी, पञ्चेबाजा, कोट पूजाँ लगाएतका परम्परागत संस्कृतिलाई जोगाइ राख्नका लागि गाउँपालिकाले बजेट कै व्यवस्था गर्दै आएको छ । त्यस्तै दशै तिहारकालागि रोगटे पिङ, जाते पिङ, डोरी पिङ समेत गाउँपालिकाले हाल्दै आएको छ ।

मौलिक परम्परागत रुपमा रहेको तामाङ बस्ति हेर्दै हिड्ने गोरेटो बाटो निर्माणको अन्तिम चरणमा रहेको छ । त्यसलाई पद मार्गको रुपमा विस्तार गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष अधिकारीले बताए । गाउँपालिकाले मौलिक परम्परा र संस्कृति लोप हुन नदिन र पुस्तान्तरणका लागि जातिय मौलिक पहिचानका कपडा बुन्ने तालिम, बाँसका चोयाबाट डोका थुन्चे बनाउने, ढिकी, जाँतो र घट्ट बनाउने तालिम प्रदान गर्नुको साथै व्यवसायिकताको लागि अनुदान समेत प्रदान गर्दै आएको छ ।

तारकेश्वर चिनाउने शैक्षिक पार्क
तारकेश्वर गाउँपालिका र अध्यक्ष शिव अधिकारीको बृहत कल्पना र अवधारणासहित निर्माण गरिएको शैक्षिक पार्क आफैमा पाठशाला हो । पार्कमा गाउँपालिका चिनाउने सामाग्रीहरु राखिएकाले त्यहाँ पुग्ने जो कोहिले पनि तारकेश्वरको सबै जानकारी प्राप्त गर्न सक्ने अध्यक्ष अधिकारीको भनाइ छ ।

शैक्षिक पार्क नयाँ अभ्यास हो । जुन बालकदेखि वृद्धासम्मको लागि उपयोगी छ । पार्क अवलोकनबाट नै धेरै कुरा सिक्न सकिने अध्यक्ष अधिकारीले बताए । उनका अनुसार पार्कलाई आगामी दिनमा थप व्यवस्थित गर्दै गाउँपालिकाको पहिचान झल्कने सामाग्रीहरु राख्दै जानेछौँ ।

प्रतिक्रिया दिनुहोस्