काठमाडौं- काठमाडौं जिल्लाका ११ पालिकामध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरपालिका रहेको पाइएको छ। महालेखाको अन्तिम लेखापरीक्षण प्रतिवेदन २०७९/२०८० का अनुसार सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरमा देखिएको हो। जसअनुसार काठमाडौं महानगरपालिकाको एक वर्षको बेरुजु २५ करोड ७० लाख ३४ हजार रहेको छ।
बेरुजु बढ्नुमा पेश्की धेरै लिने र समयमै नबुझाउनु कर्मचारीको खर्चमा अनियमितता हुनु, प्रक्रिया नपुर्याई खर्च गर्नु, लेखा उत्तरदायी अधिकृत र जिम्मेवार व्यक्तिबाटै आर्थिक कार्यविधि ऐन, २०५५ र आर्थिक कार्यविधि नियमावली, २०६४ अनुसार निर्धारित कार्यविधि र प्रक्रिया नपुर्याई खर्च गर्नु, लेखापरीक्षण नगराउनु, लेखा उत्तरदायी अधिकृतबाट समयसमयमा नियमित अनुगमन एवं निरीक्षण नगर्नु, प्रचलित आर्थिक ऐन, नियम र प्रशासनिक निर्णयहरू अस्पष्ट र दोहोरो अर्थ लाग्ने हुनुलगायत छन्।
लेखा उत्तरदायी अधिकृत र जिम्मेवार अधिकृतले बेरुजु घटाउन उच्च प्राथमिकता दिन नसक्नु, सबै निकायले महालेखापरीक्षकले तोकेको ढाँचामा लेखा नराख्नु, जनताप्रतिको गैरजिम्मेवारीपन र मूल्य मान्यताको बेवास्ता र आर्थिक व्यवस्थापन गर्ने निकायकै खर्चमा मनोमानी गर्नुजस्ता कारणले गर्दा बेरुजु बढेको छ।
काठमाडौं महानगरपालिका काठमाडौं महानगरपालिकामा आर्थिक वर्ष २०७९/२०८० को महालेखाको प्रतिवेदन अनुसार २५ करोड ७० लाख ३४ हजार रुपियाँ बेरुजु देखिएको छ । काठमाडौं महानगरपालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विविध कोषलगायतको वित्तीय विवरण महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रूपमा प्रयोग गरेर तयार नगरेका कारण बेरुजु धेरै देखिएको हो।
महानगरपालिकाको गतवर्षसम्म २ अर्ब ७३ करोड ७७ लाख ५० हजार रुपियाँ बेरुजु बाँकी रहेको थियो। अहिले महानगरपालिकाको हालसम्मको अद्यावधिक बेरुजु २ अर्ब ९९ करोड ४७ लाख ८४ हजार रुपियाँ रहेको छ।
गोकर्णेश्वर नगरपालिका आर्थिक वर्ष २०७९/२०८० मा गोकर्णेश्वर नगरपालिकामा १२ करोड २५ लाख २९ हजार बेरुजु कायम रहेको छ । गतवर्षसम्म २३ करोड ३६ लाख ६५ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु ३५ करोड ६१ लाख ९४ हजार रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
बूढानीलकण्ठ नगरपालिका बूढानीलकण्ठ नगरपालिकामा आर्थिक वर्ष २०७९/२०८० लेखापरीक्षणबाट ७ करोड १८ लाख ७ हजार बेरुजु देखिएको छ । बूढानीलकण्ठ नगरपालिकाको गतवर्ष सम्म ४६ करोड १७ लाख ५७ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु ४८ करोड ८० लाख ४० हजार रहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिका कागेश्वरी मनोहरा नगरपालिकाको आर्थिक वर्ष २०७९/२०८०मा ६ करोड ३१ लाख ८७ हजार बेरुजु देखिएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको गतवर्षसम्म २७ करोड ६२ लाख ७५ हजार बेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु ३३ करोड ९४ लाख ६२ हजार रहेको छ।
काठमाडौं जिल्लामा रहेका पालिकाको एक वर्षको बेरुजु
काठमाडौं महानगरपालिका –२५,७०,३३,५४५।५३ गोकर्णेश्वर नगरपालिका –१२,२५,२९,११९।२९ बूढानीलकण्ठ नगरपालिका – ७,१८,०६,३९४।२१ कागेश्वरी मनोहरा– ६,३१,८६,६३७ दक्षिणकाली नगरपालिका –६,२१,२३,४६६ चन्द्रागिरि नगरपालिका –५,०३,६०,८४६ टोखा नगरपालिका – ४,२२,८०,६३९।७७ कीर्तिपुर नगरपालिका –३,६१,१५,२२९।२५ तारकेश्वर नगरपालिका –२,३५,४०,३२५।७९ शंखरापुर नगरपालिका– २,१६,६३,३७५ नागार्जुन नगरपालिका– १९,२१,९४८
प्रतिक्रिया दिनुहोस्