बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्ष विरुद्ध ६१ लाख बढीको भ्रष्टाचार मुद्दा दायर

| २०८३ असार ३ गतेमा प्रकाशित

काठमाडौं- ढुङ्गा, गिट्टी र बालुवा उत्खननको राजस्व रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन जनप्रतिनिधि र कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

स्थानीय ठूलीगाड र कापडीगाड बगर क्षेत्रबाट उठेको राजस्व संकलन नगरी गाउँपालिकालाई हानीनोक्सानी पुर्‍याएको भन्दै आयोगले मंगलबार कानुनी कदम चालेको हो।

यस मुद्दामा तत्कालीन गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्द र उपाध्यक्ष इन्द्राकुमारी बोहरा विरुद्ध १४ लाख १० हजार २४० रुपैयाँ बिगो दाबी गरिएको छ। सोही रकम बराबरको बिगो र कैद सजाय माग गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी, लेखापाल युवराज भट्ट, शिक्षा अधिकृत विवेक देउवा र सबइञ्जिनियर दानबहादुर पछेरा विरुद्ध पनि मुद्दा चलाइएको छ।

राजस्व हिनामिनासँगै सोही गाउँपालिकाले एक्स्काभेटर भाडामा दिने ठेक्कामा समेत ठूलो भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। एक्स्काभेटर भाडाको राजस्व रकम संकलन नगरी सरकारी सम्पत्ति नोक्सान पुर्‍याएको अभियोगमा आयोगले सोही टोली विरुद्ध अर्को मुद्दा पनि दायर गरेको छ।

दोस्रो मुद्दामा तत्कालीन अध्यक्ष चन्द, उपाध्यक्ष बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत जैशी, लेखापाल भट्ट र सबइञ्जिनियर पछेरा विरुद्ध समान ४६ लाख ९५ हजार ६०० रुपैयाँ बिगो कायम गरिएको छ। राजस्व छलीमा मिलेमतो गर्ने भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बम विरुद्ध पनि सोही बराबरको बिगो र कैद सजाय माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट