भोटेकोशी बाढीपीडितका लागि महाङ्काल गाउँपालिकाले २७ लाख ४७ हजार रुपैयाँ सहयोग गर्ने

| २०८३ भदौ १८ गतेमा प्रकाशित

काठमाडौं—भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ललितपुरको महाङ्काल गाउँपालिकाले २७ लाख ४७ हजार ८८८ रुपैयाँ सहयोग गर्ने भएको छ।

गाउँपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

गाउँ कार्यपालिकाको २०८३/०५/१८ गतेको निर्णयअनुसार विपद् प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्ति मार्फत प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिएका छ्न ।

सहयोग रकममध्ये कर्मचारीहरूको तर्फबाट १५ लाख ५८ हजार ६३८ रुपैयाँजनप्रतिनिधिहरूको तर्फबाट १ लाख ८९ हजार २५० रुपैयाँ र गाउँपालिकाको तर्फबाट १० लाख रुपैयाँ रहेको छ।

कर्मचारीहरूको योगदानमा अधिकृतस्तरका कर्मचारीबाट ७ दिन, सहायक कर्मचारीबाट ५ दिन तथा श्रेणीविहीन कर्मचारीबाट २ दिन बराबरको तलब समावेश गरिएको छ। जनप्रतिनिधिहरूको योगदान भने १५ दिन बराबरको सेवा–सुविधाबापतको रकम रहेको गाउँपालिकाले जनाएको छ।

महाङ्काल गाउँपालिकाले विपद्को यस दुःखद् घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि सम्बन्धित सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट