सत्ता गठबन्धन केटाकेटीको खेल जस्तै भएको नेकपा (एमाले)का अध्यक्ष ओलिको दाबी

| २०७८ चैत २२ गतेमा प्रकाशित

चैत २२,काठमाडौं ।

एमाले अध्यक्ष केपी ओलीले पाँचदलीय गठबन्धन केटाकेटीको खेल जस्तै रहेको र अस्थायी भएको टिप्पणी गरेका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको नवौँ महाधिवेशनको सोमबार उद्घाटन गर्दै ओलीले गठबन्धन अदालतले बनाइदिएको आरोप लगाएका छन् ।

‘पाँचदलीय गठबन्धन दुई दिनको केटाकेटीको खेल हो । अदालतले ल्याएर जोडजाड गरिदिएको पुतली हो । टालाटुली बाटुली कति राम्रा पुतली भने जस्तो, यी टालाटुली बटुलेको पुतली राम्रा पनि छैन । टाला पनि मिलाएर बनाउन जानेका छैनन्,’ ओलीको भनाइ थियो, ‘यिनीहरू अस्थायी हुन् । स्थायी त जनताको आदेश हो । जनताको आदेश के थियो र के आउँछ भन्ने आगामी निर्वाचनले देखाउँछ ।’

कार्यक्रममा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रतिक्रियावादी दक्षिणपन्थी शक्तिलाई बलियो बनाउने काममा लागेको आरोप पनि लगाए ।

‘उनीहरूले आन्दोलन समाप्त पार्न खोजे, सकेनन् । त्यसपछि पार्टी कब्जा गर्न खोजे, त्यो असफल भयो । प्रतिगमनको विरोध भन्दै दक्षिणपन्थीको पछि लागे, क्रान्तिकारी भन्दै पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने र दक्षिणपन्थी शक्तिलाई मजबुत पार्ने प्रयासमा लागेका छन्,’ ओलीले भने । स्थानीय निर्वाचन नजिकिएको भन्दै ओलीले आफ्नो पार्टीले बहुमत स्थानीय तह जित्ने दाबीसमेत गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट