थाक्रेमा तीन दिने नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

| २०८३ असार १५ गतेमा प्रकाशित

धादिङ, थाक्रे। सञ्चार केन्द्र नेपाल, धादिङको आयोजना तथा थाक्रे गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तीन दिने नेतृत्व तथा क्षमता विकास कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

थाक्रे गाउँपालिका–६, महादेवबेसीमा आयोजित उक्त कार्यक्रम असार १२ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा, महिला तथा विभिन्न समुदायका सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य सहभागीहरूको नेतृत्व क्षमता, निर्णय गर्ने सीप, प्रभावकारी सञ्चार, व्यक्तित्व विकास तथा सामुदायिक नेतृत्वलाई सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ। प्रशिक्षणका क्रममा नेतृत्वको महत्व, सफल नेताको गुण, समूह परिचालन, आत्मविश्वास अभिवृद्धि, सार्वजनिक बोलाइ तथा व्यवहारिक नेतृत्वसम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।

सहभागीहरूले यस्ता क्षमता विकासमूलक तालिमले व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

आयोजक सञ्चार केन्द्र नेपाल, धादिङले समुदायमा सक्षम नेतृत्व विकास गरी स्थानीय तहको सुशासन र विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साथै, थाक्रे गाउँपालिकाले नागरिकको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

आईतबार भएको समापन कार्यक्रममा थाक्रे गाउँपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगानी), वडा न. ६ का वडाध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र), सञ्चार केन्द्र नेपालका अध्यक्ष राजन अधिकारी, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष रामहरी गजुरेल लगाएतको सहभागीता रहेको थियो । तीन दिनको कार्यक्रममा प्रशिक्षकहरु राजेन्द्र गजुरेल, राज ढुंगाना, आषिस ठकुरी र वालिका मादेनले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट