काठमाडौं- मंसिर १६ गते हुने स्थानिय तह उपनिर्वाचनका लागि उम्मेदवारहरु आफ्नो एजेण्डासहित घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । यसैबिच नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ मा पनि उपनिर्वाचनको रौनक छाएको छ ।
२०७९ को निर्वाचनमा निर्वाचित भएका नेपाली कांग्रेसका तिलक बहादुर लामाको निधन पश्चात रिक्त रहेको उक्त पदका लागि यस पटकको उपनिर्वाचनमा ११ जनाको उम्मेदवारी परेको छ । स्वर्गीय लामा ८ सय ८८ मतका साथ वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए । लामाका निकटतम प्रतिस्पर्धीमा माओवादी केन्द्रका कृष्ण घिमिरे(मिलन) रहेका थिए । घिमिरेले ७ सय ३४ मत प्राप्त गरी पराजय भएका थिए ।
को-को छन् निर्वाचन मैदानमा ? उक्त वडाको अध्यक्षका लागि दुई स्वतन्त्रसहित ११ जनाको उम्मेदवारी परेको छ । यस पटकको निर्वाचनमा दलहरु एक्लाएक्लै चुनाव लड्ने निर्णय अनुरुप यहाँ पनि तालमेल वा गठबन्धन भएन । प्रमुख सत्तारुढ देखि प्रतिपक्ष दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । त्यति मात्र नभई दुई स्वतन्त्र व्यक्ति पनि चुनावी मैदानमा छन् ।
सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेसहित प्रतिपक्षमा रहेका नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका नौ दलको तर्फबाट उम्मेदवारी परेको छ ।
कांग्रेसका सुर्य तामाङ, नेकपा एमालेका यमबहादुर लामा, नेकपा माओवादी केन्द्रका कृष्ण घिमिरे (मिलन), राष्ट्रिय स्वतन्त्र पार्टीका मङ्गल सिद्धि लामा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट मानबहादुर तामाङ, नागरिक उन्मुक्ति पार्टीका अमृत तामाङ, मङ्गल नेशनल अर्गनाईजेशनबाट किरण तामाङ, नेपाल मजदुर किसान पार्टीका माईलीमाया तामाङले मनोनयन दर्ता गराएका हुन् ।
यस्तै, स्वतन्त्रबाट रमेश पुडासैनी र सोनु तामाङले मनोनयन दर्ता गराएका छन् ।
मतपरिणाम आफ्नो पक्षमा ल्याउन कसरत
पहिलो पटक स्थानिय तहको निर्वाचनमा सहभागि भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काँग्रेसबाट टिकट नपाएका मंगलसिद्धी लामालाई उम्मेदवार बनाएको छ । नयाँ शक्ति भन्दै आएको रास्वपा जित्नै पर्ने दबाबमा रहेको छ ।
यसअघिको निर्वाचनमा विजयी भएको कांग्रेस फेरि पनि जित्ने अभिलासाका साथ जनतामाझ गइरहेको छ । त्यस्तै, ७९ को निर्वाचनमा १५४ मतले दोस्रो भएको माओवादी केन्द्रले दोस्रो पटक पनि घिमिरेलाई उम्मेदवार बनाएर आफ्नो जित सुनिश्चित हुनेमा ढुक्क देखिएको छ ।
यस वडामा ७९ को निर्वाचनमा २०५ मतसहित तेस्रो भएको सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले पनि आफ्नो उम्मेदवार जिताउन जिल्लाका पार्टी नेतृत्वसहित मैदानमा हामिएको छ । त्यस्तै, नेकपा(एकिकृत समाजवादी), राप्रपा लगाएतका दल पनि उत्साहका साथ मैदानमा छन् ।
स्वतन्त्र उम्मेदवारहरु पनि आफ्ना एजेण्डा लिएर मतदाताका घरघरमा पुगिरहेका छन् । यसोत ककनी २ मा यस पटक एक पदका लागि ११ जना मैदानमा उत्रिरहँदा निर्वाचन परिणाम कस्को पक्षमा आउँछ भन्ने कुरा त मंसिर १६ को मतदान पश्चातको आउँने परिणामले नै देखाउँने छ ।
प्रतिक्रिया दिनुहोस्