जनकपुरले एनपीएल जितेको खुसीमा गाउँपालिकाले दियो स्थानीय बिदा

| २०८१ पौष ७ गतेमा प्रकाशित

काठमाडौं- सखुवा प्रसौनी गाउँपालिका, पर्सा-मधेश प्रदेशको जनकपुर बोल्टसले नेपालको पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा ऐतिहासिक जित हासिल गरेको खुसीयालीमा सखुवा प्रसौनी गाउँपालिकाले एक दिनको स्थानीय बिदा घोषणा गरेको छ।

गाउँ कार्यपालिकाको मिति २०८१।०९।०६ गते बसेको बैठकले उक्त निर्णय गर्दै आइतबार, मिति २०८१।०९।०७, का दिन गाउँपालिकाका सबै वडा कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, र स्वास्थ्य चौकीहरूमा अति आवश्यक सेवा बाहेक सम्पूर्ण गतिविधिहरू बन्द रहने जनाएको छ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवले जारी गरेको सूचनामा यस जितलाई मधेश प्रदेशको प्रतिष्ठाको रूपमा लिँदै सबैलाई खुसीयाली मनाउन आग्रह गरिएको छ। यससँगै गाउँपालिका भित्रका सबै क्षेत्रलाई एकताको भावना प्रकट गर्न आग्रह गर्दै यो निर्णय गरिएको हो।

जनकपुर बोल्टसको जितले मधेश प्रदेशमा मात्र नभई सम्पूर्ण देशभर उत्साह थपेको छ। यो जितले मधेश प्रदेशको खेल क्षेत्रको विकास र पहिचानलाई थप उचाइमा पुर्‍याएको अध्यक्ष यादवले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट